डोटी : डोटीमा सोमबार बिहानै स्कारपियो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जसमध्ये ३ जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार कैलालीको धनगढीबाट अछामतर्फ जाँदै गरेको बा १९ च ५३७ नम्बरको जिप बिहान ५ बजेतिर डोटीको पूर्वी चौकी गाउँपालिका-५, कुडीगाडामा सडकबाट खस्दा चालकसहित ७ जना घाइते भएका हुन्।
दुर्घटनामा जिप चालक अछामको मंगलसेन नगरपालिका–५ का ३१ वर्षीय थलेन्द्र उपाध्याय, यात्रुहरू अछामकै कमलबजार नगरपालिका-९ का ३३ वर्षीय दीपकप्रसाद उपाध्याय, जयगड गाउँपालिका-६ का ३ वर्षीय रितेश ठकुल्ला, सोही ठेगानाका ३० वर्षीय हरक ठकुल्ला, ३ वर्षका रोनिश ठकुल्ला, २७ वर्षीया दीपा ठकुल्ला, रामारोशन गाउँपालिका-१ का २३ वर्षीया रेजिना खनाल घाइते भएका हुन्।
यीमध्ये हरक, रोनिश र दीपाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अछामकै बलयपाटा अस्पताल लगिएको छ। जिप सडकबाट १५० मिटर मुनि खसेकाे सानागाउँस्थित प्रहरी चाैकीले जानकारी दिएकाे छ।