आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने सम्बन्धी विधेयक माथिको प्रतिवेदन प्रस्तुत

आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने सम्बन्धी विधेयक माथिको प्रतिवेदन प्रस्तुत

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा प्रदेशमा आयुर्वेद प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि बिषयगत समितिले दफावार छलफल गरी तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ । बिहीबारको बैठकमा सामाजिक विकास समितिका सभापति कुन्ति जोशीले प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

समितिले दफावार छलफलका क्रममा विधेयकका नौ वटा बुँदामा सामान्य परिवर्तन गरेको छ । सभापति जोशीले प्रस्तुत गरेको प्रतिवेदनमा महिलाहरुको समेत प्रतिनिधित्व गराई प्रतिष्ठानको सभा गठन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहको प्रमुखको स्थानमा दुवै जना नै सदस्यमा मनोनित गर्न प्रावधान राख्ने गरी दफा ७ को   (ञ) र (ट) मा संशोधन गरिएको छ । यस्तै अन्य बुँदामा पनि सामान्य हेरफेर गरिएको छ ।

कतिपय संस्कृत भाषामा रहेका शब्दहरुलाई नेपालीमा रुपान्तरण गरिएको छ । प्रतिवेदन पेश गर्दै सामाजिक विकास समितिका सभापति जोशीले समितिले गरेको संशोधन विधेयकको अंग बनाई सभाबाट पारित गर्न अनुरोध गर्नुभयो । प्रदेश सभाको बिहीबारको बैठकमा सभामु्ख अर्जुन बहादुर थापाले सांसद बलदेब रेग्मीलाई प्रदेश सभाको कार्य ब्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरिएको जानकारी दिनुभयो ।

यस्तै सांसद अक्कल रावल, कुलवीर चौधरी, मालामति राना थारु र अम्बी कुमारी थापा रहेको आचरण अनुगमन समिति समेत गठन गरिएको सभामुख थापाले जानकारी दिनुभयो । प्रदेश सभाको अर्को बैठक साउन ३ गते बस्ने छ ।