सुदूरपश्चिम प्रदेशमा खाद्य सुरक्षा अगुनगमन प्रणाली सञ्चालनको तयारी

सुदूरपश्चिम प्रदेशमा खाद्य सुरक्षा अगुनगमन प्रणाली सञ्चालनको तयारी

धनगढी : विश्व खाद्य सुरक्षा कार्यक्रमको प्राविधिक सहयोगमा सुदूरपश्चिम प्रदेशमा खाद्य सुरक्षा अनुगमन प्रणाली सञ्चालनको तयारी भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा सम्बन्धित सरोकारवालाहरूसंग गरेको बैठकले खाद्य सुरक्षा सूचना केन्द्र स्थापना गर्ने निर्णय गर्नुका साथै सो सूचना केन्द्र सञ्चालनका लागि निर्देशक समिति पनि गठन गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्वमा गठन गरिएको निर्देशक समितिमा सुदूरपश्चिम प्रदेशको बाँकी ६ वटा मन्त्रालयका खाद्य सुरक्षा सम्बन्धी महाशाखा प्रखुम सदस्य र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रबद्र्धन महाशाखा प्रमुख सदस्य सचिव रहेका छन् ।

विश्व खाद्य कार्यक्रमले सुदूरपश्चिम प्रदेशका ७ स्थानीय तहमा समेत पाइलट प्रोजेक्टको रुपमा खाद्य सुरक्षा सूचना केन्द्र स्थापनाको तयारी गरेको छ । विश्व खाद्य कार्यक्रमले बाजुराको छेडेदह, हिमाली र गौमुल तथा डोटीको सायल गाउँपालिकामा सूचना केन्द्र स्थापना गरिसकेको बताएको छ । बझाङमा १ र अछाममा २ वटा सूचना केन्द्र २०१९ भित्रै स्थापना गरिने तयारी रहेको विश्व खाद्य कार्यक्रमले जनकारी दिएको छ । 

मन्त्रालयका बरिष्ठ वागवानी अधिकृत तथा निमित्त सचिव खगेन्द्र शर्माको अध्यक्षतामा बसेको बैठकमा सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरुको खाद्य सुरक्षा सम्बन्धी कार्यक्रम हेर्ने महाशाखाका प्रमुख र पत्रकारहरुको सहभागिता थियो ।

बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले तत्काल खाद्य सुरक्षा सूचना केन्द्र स्थापना गरी प्रदेशको खाद्य सुरक्षाको अवस्था अपडेट गरिने बताउनुभयो । उहाँले प्रदेशमा भोकमरी पर्न नदिनमा प्रदेश सरकार गम्भीर रुपमा लागेको बताउनुभयो ।