मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति जनाएपछि डडेलधुरा अस्पतालका चिकित्सकहरु काममा फर्किने

मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति जनाएपछि डडेलधुरा अस्पतालका चिकित्सकहरु काममा फर्किने

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुरक्षा दिने प्रतिवद्धता जनाएपछि डडेलधुरा अस्पतालमा कार्यरत चिकित्सकहरु काममा फर्किने भएका छन् । चिकित्सकहरु जिल्ला छाडेर धनगढी गएपछि सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीसँग समस्याको बारेमा छलफल भएको छ ।

भेटमा मुख्यमन्त्री भट्टले सुरक्षाको प्रतिवद्धता जनाएपछि उनीहरु नियमित काममा फर्किने भएका हुन । नेपाल चिकित्सक संघ सुदूरपश्चिम संयोजक प्रमोद जोशीले मुख्यमन्त्रीबाट सुरक्षाको सकारात्मक जवाफ आएको र घटनामा संलग्न दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि चिकित्सकहरु काममा फर्किन राजी भएको बताउनुभयो ।

गत बुधबार दिउँसो शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको थियो । अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले शव परीक्षण गरिरहेका चिकित्सकमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ ।

आक्रमणपछि चिकित्सकले एक विज्ञप्ति जारी गर्दै सुरक्षाका कारण देखाउँदै दोषीमाथि कारबाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर बुधबारबाट अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेका थिए ।