विश्वकप क्रिकेट: दाेस्राे सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई दियाे २२४ रनकाे मध्यम लक्ष्य

विश्वकप क्रिकेट: दाेस्राे सेमिफाइनलमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई दियाे २२४ रनकाे मध्यम लक्ष्य

आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २२४ रनको लक्ष्य दिएको छ ।अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ रन बनयो ।  तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टिभ स्मिथले ८५ रन बनाएपछि अस्ट्रेलियाले इंग्ल्याण्डलाई मध्यम लक्ष्य दिएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको थियो । १४ रन जोड्दा तीन विकेट गुमाएको अस्ट्रेलियाले पछि भने सम्हालिने प्रयास गरेको थियो । उसका लागि स्टिभ स्मिथ र एलेक्स केरीले १०३ रनको साझेदारी गरेका थिए । उनीहरुको साझेदारीले अस्ट्रेलियाले ११७ रन बनाएकाे थिए । आठौं विकेटका लागि स्मिथ र मिचेल स्टार्कले अर्धशतकीय साझेदारी गरे ।

२७ औंँ ओभरमा अदिल रशिदले २ विकेट लिएपछि अस्ट्रेलियाको इनिङ फेरि धर्मराएकाे थियो । रशिदको बलमा एलेक्स क्यारी ४६ रनमा आउट हुँदा मार्कस स्टोइनिस खाता नै नखोली पेभेलियन फर्किए । त्यसपछि स्मिथ र म्याक्सवेलले ३९ रनको साझेदारी गरे । तर त्यो साझेदारी पनि लामो हुन सकेन । म्याक्सवेललाई जोफ्रा आर्चरले २२ रनमा आउट गरेका थिए ।

अस्ट्रेलियाका एरोन फिन्च खाता नै नखोली आउट हुँदा जारी विश्वकपमा उच्च लयमा रहेका डेभिड वार्नर पनि व्यक्तिगत ९ रनमा पेभेलियन फर्किए । आठौंँ विकेटको रुपमा स्मिथलाई ८५ रनमा जस बट्लरले रन आउट गरेका थिए । नवौँ विकेटका रुपमा मिचेल स्टार्क २९ रन बनाएर आउट भए ।

इंग्ल्याण्डका अदिल रशिद र क्रिस वोक्स्ले तीन तीन विकेट लिँदा जोफ्रा आर्चरले २ तथा मार्क उडले १ विकेट लिए । आजको विजेताले आइतबार न्यूजिल्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।