प्रदेश सभामा उमा वादीको ८ मिनेट

प्रदेश सभामा उमा वादीको ८ मिनेट

धनगढी– अत्यन्तै सीमान्तकृत समुदायको प्रतिनिधित्व गर्दै सुदुरपश्चिम प्रदेश सभामा सांसद बन्नुभएकी उमा कुमारी वादीले बिहीबार प्रदेश सभामा बोल्दा सबैको ध्यान आफुतिर तान्नुभयो । प्रदेश सभामा विरलै मात्र बोल्ने उहाँले बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै सरकारले आफुले प्रतिनिधित्व गर्ने समुदायका लागि केही पनि नसोचेको बताउनुभयो । 
प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट सांसद बन्नुभएकी उमाले सरकारले छापेको रातो किताबमा सीमान्तकृत समुदायका लागि के योजना छ भनि प्रश्न गर्नुभयो । “सुदूरपश्चिम प्रदेशमा राजी छन्, राउटे छन्, सोनाहा छन्, वादी छन्, यी सबै सीमान्तकृत समुदाय हुन । सरकारले रातो किताबमा तिनका लागि के योजना राखेको छ ? मैले खोज्दा केही पनि भेटिन”–उहाँले भन्नुभयो । रातो किताब जलाइएको प्रसंगमा उहाँले जनताका लागि हानिकारक भएका कारण आफुहरुले जलाएको बताउनुभयो । 
“हामीले असाध्यै मिठो भाषण ग¥यौं, गर्नु पनि पर्छ, किन कि हामी नेता हौं, तर हामीले यो पनि सोच्नुपर्छ कि सरकारमा बसेर हामीले महिला का लागि के ग¥यौं, दलितका लागि के ग¥यौं, सीमान्तकृत समुदायका लागि के ग¥यौं”–उहाँले भन्नुभयो । सांसद उमाले बोल्नुपूर्व प्रदेश सभामा उहाँकै दलका नेता डा. रणबहादुर रावल सहित सत्तापक्षका प्रभावशाली सांसदहरुले समेत बोल्नुभएको थियो । सरककारको पक्ष र विपक्षमा राजनीतिक रुपमा टिप्पणी भइरहँदा सांसद उमाले भने आफ्नै शैलीमा सरकारसित सीमान्तकृत समुदायका लागि देखिने गरी काम गर्न माग गर्नुभयो । सदनमा खासै नबोल्ने उहाँले बिहीबार बजेट माथि बोल्दा सभामुखबाट ८ मिनेट समय पाउनुभएको थियो । आफुले पाएको समयभित्र उहाँले प्रभावकारी रुपमा सरकारको ध्यान आकर्षण गर्नुभयो । उमाले सरकारको ध्यान आकर्षण गरेको पुष्टि बिहीबार नै बोलाइएको प्रदेश सभाको अर्को बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले सम्बोधन गर्नुले पनि गरेको छ । 
सांसद उमा कुमारी वादीले उठाएका सवालमा सरकारले काम गरिरहेको र अगामी दिनमा पनि गर्ने आथिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले बताउनुभयो । “सभामा बोल्दा कतिपय सांसदहरुले सभामुखसित थप समय माग्ने गर्छन् भने कतिपयले माइकको लाइन काटिएपछि पनि बोलिरहन्छन । तर पनि प्रष्ट कुरो कसैको आउँदैन, तर उमा माननीयले आज गज्जव बोल्नुभयो”–प्रदेश सभा सचविालयका एक जना कर्मचारीले भन्नुभयो ।