प्रदेश ७ मा तीन महिनामा ४७ बलात्कारका घटना सार्बजनिक

प्रदेश  ७ मा तीन महिनामा ४७ बलात्कारका घटना सार्बजनिक

धनगढी – साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२, की १३ वर्षीया निर्मला पन्तको बलात्कार गरेर हत्या गरेको घटनाका दोषी पत्ता लगाउनुपर्ने मागसहित एक महिनादेखि महेन्द्रनगरमा भइरहेको प्रदर्शन प्रदेशको अस्थायी राजधानी धनगढी, अत्तरिया र डडेल्धुरासम्म फैलियो।

निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर एक युवकको ज्यान गयो भने धेरै घाइते भए । बलात्कार गर्नेलाई कडा कारबाही गरिनुपर्ने अवाजसहित आन्दोलन चर्किएकै बेला प्रदेश ७ मा बलात्कारका घटना बढ्दै गएका आजको नागरिक दैनिकमा धनगढीबाट दिलबहादुर छत्याल र पुष्पराज जोशीले समाचार लेखेका छन । 

भदौ १३ गते राति कैलालीको घोडाघोडी नगरपालिका–६ स्थित आफ्नै घरमा सुतिरहेका बेला १४ वर्षीया एक किशोरीलाई उनकै छिमेकी ३२ वर्षीय हर्क कुँवरले दुई हात बाँधेर र मुखमा सल कोची बलात्कार गरे । अशक्त हजुरबुबाबाहेक घरमा कोही नभएको मौका पारेर साथीकै बुवा पर्ने कुँवरले उनलाई बलात्कार गरेका हुन् । रक्ताम्म भएर बेहोस अवस्थामा रहेकी किशोरीको होस खुलेपछि उनले राति १ बजे बुवालाई घटनाबारे जानकारी गराएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

किशोरी बेहोस भएकाले मरिसकेको ठहर गरेर कुँवर त्यहाँबाट आफ्नै घरमा गएर सुतेको उनले बताए । किशोरीका आमाबुवा अछाम बस्दै आएको र उनी अशक्त बाजेसँग घरमै बस्ने गर्थिन् । किशोरीका घाँटी, गला र पाखुरामा दाँतले टोकेका चोट लागेको प्रहरीले बतायो । किशोरीका बुबा अछामबाट फर्केपछि भदौ १५ गते प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । ‘प्रहरीमा उजुरी दिएको थाहा पाएपछि शनिबार कुँवर फरार भएका थिए । प्रहरीले आइतबार लम्कीचुहा नगरपालिका वडा नम्बर १० मा उनलाई पक्राउ गरेको एसपी घिमिरेले बताए।

भदौ १४ गते कञ्चनपुरको बेल्डाडी गाउँपालिका–१ की १६ वर्षीया किशोरीलाई राति दुई बजेको समयमा चारजनाले सामूहिक बलात्कार गरे । किशोरीको घरमा पूजा भइरहेका बेला चिनजानका एक युवकले उनलाई घरनजिकै बोलाएर मोटरसाइकलमा अपहरणशैलीमा खेतमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले बताए । फोन सम्पर्कपछि सडकमा गएकी किशोरीलाई अपहरणशैलीमा मोटरसाइकलमा चार युवकले जब्दा भन्ने ठाउँमा लगेर सामूहिक बलात्कार गरेका थिए । प्रहरीले दुईजना पक्राउ गरेको छ भने २ जना फरार छन् ।

तीन युवतीको बलात्कारपछि हत्या
दुई महिनाको अवधिमा बलात्कार गरेर तीनजनाको हत्या गरिएको छ । असार १२ गते बिहान गौरीगंगा नगरपालिका कार्यालयमा जान भनी घरबाट गएकी गौरीगंगा नगरपालिका–११ की २१ वर्षीया माया विकलाई पाँचजनाले सामूहिक बलात्कार गरेर क्रुरतापूर्वक हत्या गरे । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–११ कै चपथली सामुदायिक वनको जंगलमा हात पछाडि बाँधिएको, मुखमा सल कोचेको, नग्न अवस्थामा भदौ १५ गते उनको शव फेला पर्याे।

कार्यालयमा काम गर्ने सहकर्मी ३० वर्षीय गणेश बडुवाललगायत २० वर्षीय भुवन खाती, २१ वर्षीय सुरज चौधरी, २७ वर्षीय मनोज बोगटी र १९ वर्षीय तपेन्द्र बोगटीले मायालाई सामूहिक बलात्कारपछि हत्या गरेका हुन् । अहिले ५ जना पुर्पक्षका लागि थुनामा छन् । बलात्कार गर्नेक्रममै युवतीको ज्यान गएको कैलालीका एसपी घिमिरेले बताए।

असार २६ गते सामान किन्न अत्तरिया गएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता बिष्टलाई सामूहिक बलात्कार गरेर हत्या गरी जंगलमा फालियो । आफन्तले सोधखोज गर्दा ६ दिनपछि कृष्णपुर नगरपालिका–२ लालझाडी मोहना वनक्षेत्रको अम्खैया खोलानजिक क्षतविक्षत अवस्थामा उनको शव फेला पर्याे । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीका २१ वर्षीय मदन गिरी, २२ वर्षीय भरत बोहराले सामूहिक बलात्कार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आफन्तले हत्यामा नवराज महराको पनि संलग्नता भनेर किटानी उजुरी दिएका छन्।

जेठयता बलात्कारका ४४ घटना

पछिल्लो महिनामा डरलाग्दो गरी बलात्कारका घटना बढेका छन् । प्रदेश ७ प्रहरी कार्यालय अनुसार जेठमा ११, असारमा १७ र साउन १० बलात्कारका घटना भएका छन् । प्रदेश कार्यालयमा यस महिनाको तथ्यांक संलकन भइसकेको छैन।

भदौ महिनामा कैलालीमा मात्र ७ बलात्कारका घटना भएको कैलालीका प्रहरी उपरीक्षक घिमिरेले बताए । यसैगरी कञ्चनपुरमा बलात्कारका दुई घटना भएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक घिमिरे बलात्कारका घटना बढ्नुमा मदिरा सेवनको प्रयोग लगायतका कारण रहेको बताउँछन् । ‘बलात्कारका घटना धेरै बढिरहेकाले अनुसन्धान गरेर यसको निराकरणका लागि कदम चालिनु आवश्यक छ,’ उनले भने।

बलात्कारका घटना बढ्नुमा मदिरा सेवन, लागूऔषधको प्रयोग, पहुँच भएकालाई उन्मुक्ति, समाज छाडातर्फ उन्मुख हुनु, मोबाइलमा अश्लील सामग्रीको पहुँच, नैतिक शिक्षाको अभाव रहेको जानकार बताउँछन् । ‘समाजमा भाइचाराको सम्बन्ध नै रहेन,’ धार्मिक अभियन्ता नरबहादुर शाही भन्छन्, ‘नातागोता, छरछिमेकमा आफन्तका बीचमा माया, सद्भाव र नैतिकता नै नहुँदा दैनिक बलात्कारका घटना भइरहेका छन्।’