कैलालीमा सुकुम्बासीका घर टहरा भत्काउन नेकपाका कार्यकर्ता परिचालन

कैलालीमा सुकुम्बासीका घर टहरा भत्काउन नेकपाका कार्यकर्ता परिचालन

कैलाली : कैलालीको  गोदावरी नगरपालिका वडा नम्बर ६ हरैया शिविरमा रहेका घर टहरा हटाउन नेकपाका कार्यकर्ता परिचालन गरेको छ | तत्कालिन माओवादी निकट वाईसियलका युवाहरु परिचालन गरिएको छ | 

राति देखि अविरल वर्षाका कारण जनजीवन प्रभावित भएका बेला उक्त टहरा भत्काउन लागिएको हो | टहरा भत्काउन थालेपछि सुकुम्बासीको विचल्ली भएको छ। हरैया शिविरमा रुवाबासी समेत चलेको स्थानीयले बताए | शिविरमा युवाहरुले संरचना भत्काइरहेको जानकारी आउने बितिकै प्रहरीको टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए | 

उनीहरुलाई तत्कालीन माओवादीले हरैया शिविरमा बसालेको थियो तर उक्त जग्गा बिक्रि भइसकेको छ। हरैयाका सुकुम्बासीलाई उठाएर धनगढी उपमहानगरपालिका–१७ स्थित धुरझन्नामा राखिएको थियो। तर त्यहाँ व्यवस्थापन राम्ररी नगरिएको भन्दै केही फेरी हरैया फर्किएका थिए भने कतिपय हरैयामै बसिरहेका थिए।

९१ परिवारको बसोवास धुरझन्नामा रहेको छ भने ४८ परिवार हरैयामै बस्दै आएका छन्। हरैयामा सुकुम्बासी बसेको जग्गा खरिद गर्ने सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालि पोखराले धुरझन्नामा ५९ कट्ठा जग्गा किनेर उनीहरुलाई व्यवस्थापन गरेको दावी गर्दै आएको छ।

सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो । जग्गा बिक्रीमा तत्कालिन माओवादीका केही नेताको संलग्नता रहेको आरोप लाग्दै आएको छ। जग्गा बिक्रीपछि ती नेताकै मिलोमतोमा हरैयाबाट हटाउन खोज्दा सुकुम्बासीहरु प्रतिकारमा उत्रेका थिए। २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो ।