प्रदेश सभामा बजेट माथिको छलफल सकियो, आजै पारित हुने

प्रदेश सभामा बजेट माथिको छलफल सकियो, आजै पारित हुने

धनगढी – असार २१ गते देखि प्रदेश सभामा शुरु भएको बजेट माथिको छलफल बिहीबार सकिएको छ । बजेट बिहीबार नै पारित हुने छ । 
बजेट माथिको छलफल सकिएपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरालाई सांसदहरुको प्रश्नका जवाफ दिन र बजेट निर्णयार्थ प्रस्तुत गर्न बिहीबार अपरान्ह ३ बजे फेरी प्रदेश सभाको बैठक बोलाइएको छ । 
बिहीबार बिहान साढे ८ बजे शुरु भएको प्रदेश सभा बैठकमा बजेटमाथि अन्तिम छलफल भएको हो । अन्तिम दिनको छलफलमा भाग लिने सांसदहरुले बजेटको पक्ष र बिपक्षमा आफ्ना भनाई राखेका छन् । बजेटमाथिको छलफलमा भाग लिँदै सत्तापक्ष नेकपाका सांसद बलदेब रेग्मीले बजेटमाथि बोल्दा सत्ता र प्रतिपक्ष दुवैले बाजुरा र दार्चुलाको नाम टक पटक लिएको भन्दै धन्यवाद दिनुभयो । सत्ता र प्रतिपक्ष दुवैलाई ब्यंग्य गर्दै उहाँले भन्नुभयो–“नाम लँदै जानुहोला, पछि केही गरी विकास भइहाल्यो भने बाजुराको नाम लिन पाइने छैन ।” 
बाजुराको दुर्गम क्षेत्र कोल्टीबाट निर्वाचित नेकपाका सांसद रेग्मीले मार्तडी र कोल्टी जोड्ने सडक कालोपत्रे गर्ने भनेर नेपाली कांगे्रस नेतृत्वको सरकारले २०६० साल भन्दा पहिल्यै बजेट नराखेरै योजना दिएको र त्यसमा केही पनि काम नभएको बताउनुभयो । “प्रदेशले बजेट राखेपछि अहिले ट्र्याक खोल्ने काम भइरहेको छ, त्यसैले बाजुरामा कैले पनि केही  गरेरका छैनन्, बाजुरा भनेर सदनमा बोल्नुको कुनै अर्थ छैन”– सांसद रेग्मीले भन्नुभयो ।  
रेग्मी भन्दा पहिले बोलेका प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ंसंसदीय दलका नेता डा. रण बहादुर रावलले बाजुरा मानव विकास सूचकांकमा दृष्टिकोणबाट पछाडि परेकोले त्यहाँ बजेट राखिनुपर्ने बताउनुभएको थियो । रावलको भनाईको प्रतिवाद गर्दै रेग्मीले प्रतिपक्ष पनि प्रदेश मा नभएपनि केन्द्रमा लामो समयसम्म रकारमा बसेको पार्टी भएकोले बाजुराका लागि त्यो दलले के ग¥यो भन्ने नि प्रश्न खडा हुने बताउनुभयो । 
प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता डा. रावलले रातो किताबमा कुन मन्त्रालयको कुन शिर्षकमा कति बजेट भन्ने प्रष्ट नभएका कारण आफुहरुले त्यसलाई खाली किताब (ब्ल्यांङ्क बुक) भनेको बताउनुभयो । 
प्रदेश सभाको सार्वजनिक लेखा समितिका सभापति समेत रहनुभएका सांसद कुमारी नन्दा बमले चालू आर्थिक बर्षमा बिभिन्न योजनाका नाममा भ्रष्टाचार भएको आरोप लगाउनुभयो । उहाँले आगामी आर्थिक बर्षका लागि पनि साना साना योजनाहरुमा बजेट राखिएकोले सरकारले प्रदेशको विकाका लागि ठोस योजना बनाएर काम गर्न सक्दैन भन्ने यसले पुष्टि गरेको बताउनुभयो । 
बिहीबारको बैठकमा सांसद दीर्घ सोडारीले बजेटमा साम्यवादी गन्ध आएको भन्दै प्रतिपक्षले आलोचना गरे पनि जनताले दिएको म्याण्डेट अनुसार बजेटमा समाजवाद र साम्यबाद देखिनुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेशको बजेट सबैभन्दा सानो आएको खिन्नता ब्यक्त गर्दै आफु अर्थशास्त्रको विद्यार्थी भएकोले ५ देखि ६ अर्ब रुपैया सम्म बजेट बढाउन सक्ने स्थिति रहेकोमा सरकारले त्यसो नगरेकोमा आलोचना गर्नुभयो । बिहीबारको छलफलमा नेकपाका सांसद बीरमान चौधरी, नेपालु चौधरी, मनाकुमारी साउँद, नेपाली कांग्रेसका गोविन्दराज बोहरा, लगायतले बोल्नुभयो ।