बजेट ‘न लोकप्रिय र न यथार्थपरक’

बजेट ‘न लोकप्रिय र न यथार्थपरक’


धनगढी– आगामी आर्थक बर्षका लागि पेश भएको बजेट माथि प्रदेश सभामा भइरहेको छलफलमा सत्ता र प्रतिपक्षीय सांसदहरुले बजेटको विरोध गरेका छन् । बुधबारको छफलमा भाग लिएका अधिकांश सांसदहरुले बजेटको विरोधमा बोलेका हुन् । 

बैठकमा बजेटको विरोध मात्रै गरिएन कतिपय सत्तापक्षीय सांसदहरुले प्रदेश सरकारले असार २० गते प्रतिपक्षी दलहरुसित गरेको भनिएको भद्र सहमति सदनलाई जानकारी गराउन माग समेत गरेका छन् । बजेटको बिषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले असार १ गते पछि लगातार रुपमा सदनमा  अवरोध पु¥याएका थिए ।

असर २० गते सरकारसित सहमति भएको बताएर असार २१ देखि सदन सञ्चालन गर्न दिन उनीहरु तयार भएका थिए । 
बुधबारको बैठकमा बजेट माथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद कर्ण बहादुर मल्लले जनताको मन जलाउने बजेट आएका कारण आफुहरुले रातो किताब जलाएको बताउनुभयो । उहाँले खानेपानीको मुल नै नभएको स्थानमा ५० लाखको खानेपानी योजना राखिएको भन्दै बजेटको विरोध गर्नुभयो । बजेटमा अपारदर्शी रुपमा रकम राखिएको भन्दै सांसद मल्लले नेपालमा पहिलो पटक घोषित रुपमा जंगबहादुर राणाले क्रिम संवत १९०६ मा ल्याएको बजेटमा पनि कके के मा खर्च गर्ने भन्ने प्रष्ट खुलाएर बजेट बिनियोजन गरिएको र बिक्रम संवत २००८ सालमा आएको बजेटमा पनि योजनाहरु प्रष्ट रहेकोले अहिलेको युगमा पनि प्रदेश सरकार पारदर्शी हुन नसकेको बताउनुभयो । सांसद मल्लले प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीले लोकप्रिय नभएर यथार्थपरक बजेट ल्याएको झुटो दावी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–“यो बजेट न लोकप्रिय छ, न यथार्थपरक छ ।” 

सत्तापक्ष नेकपाका सांसद रतन थापाले मन्त्रीहरुले आफ्नो पैत्रिक सम्पत्ति वितरण गरेजस्तो गरी बजेट बनाएको बताउनुभयो । उहाँले सरकारले जे मन लाग्छ त्यही गर्दै जाने हो भने सांसद भएर सहेर बस्नुपर्ने स्थितिमा आफु नरहने बताउनुभयो । “जनताको सम्पत्ति जथाभावी खर्च गर्न पाइदैन, सरकारले जे पायो त्यही गर्दा सहेर बस्नुपर्छ भन्ने छैन, लोगो फुकालेर घर जान सकिन्छ”– नेकपाको कैलाली जिल्ला कमिटीका अध्यक्ष समेत रहनुभएका सांसद थापाले भन्नुभयो । 

सांसद थापाले सरकारले गरेका कामलाई मसिनो संग अध्ययन गरेर गलत कुराहरु पत्ता लगाई कार्वाहीका लागि सिफारिस गर्नुपर्ने प्रदेश सभाको सार्वजनिक लेखा समितिले काम गर्न नसकेको आरोप लगाउनुभयो । 

नेकपाका सांसद मान बहादुर धामीले सरकारले प्रस्तुत गरेको बजेटको समर्थन गर्दै सत्ता र प्रतिपक्षका वीच अवरुद्ध सदन खुलाउन भएको भद्र सहमतिको सदनलाई जानकारी दिन माग गर्नुभयो । उहाँले प्रतिपक्षी दल तर्फ कटाक्ष गर्दै आफु कमजोर परेको बेला हामी ५३ जना एक ठाउँममा हुनुपर्छ भन्ने तर सजिलो पर्नासाथ उफ्रिने प्रवृति रहेको बताउनुभयो । उहाँले सदन अवरुद्ध गरेको प्रतिपक्षी दलले आफुले के सहमति गरेर सदन चल्न दिएको हो भन्ने जानकारी दिन पनि उचित नसम्म्झलेकोले कतै लेनदेनमा नै सहमति भएको त होइन भनि प्रश्न गर्नुभयो । 

यस्तै नेकपाका सांसद लाल बहादुर खड्काले सरकार सत्ता र प्रतिपक्ष दुवैका असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताउनुभयो । बुधबारको छलफलमा नेकपाका सांसद देवकी मल्ल, कुलवीर चौधरी, मानबहादुर सुनार र प्रतिपक्षी सांसदहरु देवराज पाठक, अम्बी कुमारी थापा र कृष्ण बहादुर चौधरीले बोल्नुभयो ।