गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्रीकाे चेतावनी

गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने प्रधानमन्त्रीकाे चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती गर्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले विश्वविद्यालय जस्तो पवित्र स्थलमा बेथिति भित्र्याउने तथा अनियमितता गर्ने कुनै पनि कर्मचारीमाथि कडा कारबाही हुने बताउनु भएको हो ।

त्रिभुवन विश्वविद्यालयको ६०औंँ वार्षिक दिवसको अवसर पारेर आयोजित बुधबार काठमाण्डौमा आयोजित प्राज्ञ सभामा बोल्दै उहाँले विश्वविद्यालयमा गल्ती गर्ने कर्मचारीहरुलाई सरकारले दण्ड र राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कार दिने पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले देशको शिक्षा क्षेत्रलाई विश्वमै प्रतिस्पर्धा गर्न लायक बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । उहाँले देशको आवश्यक्ताअनुसार दक्ष जनशक्ति निर्माणमा अग्रसर हुन पनि सबै विश्वविद्यालयहरुलाई आग्रह गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयको छवि नै धुमिल हुने गरी गल्ती नगर्न विश्वविद्यालयका पदाधिकारीहरुलाई सचेत गराउनुभयो । उहाँले विश्वविद्यालय भित्र कल्पना समेत गर्न नसकिने खालका बेथिति भित्रिएको उल्लेख गर्दै दुःख पनि व्यक्त गर्नुभयो ।

बैठकमा विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर तीर्थराज खनियाले विश्वविद्यालयको आगामी नीति तथा कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।