आज गौरा पर्वको मुख्य दिन, सुदूरपश्‍चिममा गौरा पर्वको रौनक

आज गौरा पर्वको मुख्य दिन, सुदूरपश्‍चिममा गौरा पर्वको रौनक

 धनगढी : प्रदेश ७ मा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ ।

प्रदेश ७ को मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउँदैछन् ।

सुदूरपश्चिमका जिल्लामा गौरा पर्वको रौनक छ । काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्किएका छन् ।

भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् ।

भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ ।

भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ ।

त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।

गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ ।

देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ । त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ ।

गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ-आफ्नै चलन अनुसार गर्ने गरिन्छ ।