एउटै मान्छे मरेको क्षतिपूर्ति एक अर्ब आठ करोड, यसरी खुल्यो कीर्ते कर्तुत

एउटै मान्छे मरेको क्षतिपूर्ति एक अर्ब आठ करोड, यसरी खुल्यो कीर्ते कर्तुत

सरकारी छाप र दस्तखत कीर्ते गर्दै हिँडेको अभियोमा प्रहरीले बाराको निजगढ घर दम्पतीलाई पक्राउ गर्न सफल भएको छ। काठमाडौं महानगरपालिका-११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत कीर्तेमा संलग्न काभ्रे धुलिखेल बस्ने बाराको निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजन कुमार थापालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।

उक्त स्थानमा सरकारी छाप र दस्तखत कीर्ते गरिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत कीर्ते गरेको कागजात बरामद भएको महागरीय प्रहरी परिसर टेकुका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

बोगटीका अनुसार उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित सरकारी नक्कलीकागजात पनि फेला परेको छ। सुवेदीले हस्ताक्षर गरेको गृहमन्त्रालयको लेटर प्याडमा लक्ष्मी अधिकारीका बुवाको मृत्यु नेपाल सरकारको कारणले भएकाले क्षतिपूर्तिस्वरुप ९५ करोड दिने निर्णय भएको उल्लेख छ।

त्यस्तै थप ८ करोड ७६ लाखसहित एक अर्ब आठ करोड ७६ लाख रुपैयाँ दिने उल्लेख गरिएको कीर्ते कागज प्रहरीले बरामद गरेको छ। उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २ सय १० रुपैयाँ बरामद गरेको छ। दुवैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।