स्वास्थ्य चौकीमा खानेपानी अभाव हुदाँ सुत्केरीसेवा प्रभावित

स्वास्थ्य चौकीमा खानेपानी अभाव हुदाँ सुत्केरीसेवा प्रभावित

डडेल्धुरा : डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ। जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिंग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीको मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो।

स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ। बर्थिङ सेन्टरसमेत रहेको यो स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरी महिलालाई बढी समस्या हुने गरेको छ। खानेपानीको आपूर्ति नहुँदा सुत्केरी सेवा प्रभावित भएको राई स्वास्थ्य सस्थाले जनाएको छ ।

स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव भएपछि सुत्केरीको सरसफाइ र अन्य कुराका लागि पानीको जोहो गर्न खोलाबाट पानी भरेर ल्याउनुपर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका इन्चार्ज नवीन नेपालीले बताउनुभयो । सदरमुकामसँगै जोडिएको उक्त वडाका अन्य विद्यालय र गाउँमा समेत खानेपानीको समस्या रहेको छ ।

स्वास्थ्य चौकीमा नगरपालिकाको दमकलले खानेपानीको आपूर्ति गर्दै आइरहेको भएपनि त्यो पर्याप्त हुन नसकेको इन्चार्ज नेपालीले बताउनुभयो । जथाभावी वनजगङ्ल फँडानी गर्दा र उच्च भारका डोजर, स्काईभेटरको प्रयोगबाट सडक खन्दा पानीका मूलहरू सुकेर गएको विज्ञहरूले बताएका छन । साथै पानीको मूल नजिकबाट सडकहरू लैजाँदा खानेपानीको समस्या अझ बढेको बताइएको छ ।