बिहेपछि एलिना भन्छिन्- मेरो प्रोग्रामको सबै ‘डिल’ श्रीमानले गर्नुहुन्छ, अब आनन्द भयो

बिहेपछि एलिना भन्छिन्- मेरो प्रोग्रामको सबै ‘डिल’ श्रीमानले गर्नुहुन्छ, अब आनन्द भयो

काठमाडौं । वैशाख पहिलो साता बिहे गरेकी गायिका एलिना चौहान अहिले दुबईमा छिन् । उनी सांगीतिक कार्यक्रमका लागि श्रीमान् विष्णु सापकोटालाई समेत लिएर दुबई पुगेकी हुन् ।


एलिना र विष्णु उता दुबईमा मस्ती गरिरहँदा यता नेपालका उनीहरूको एकपछि अर्को अन्तरवार्ता सार्वजनिक भइरहेका छन् ।

दुबई जानुभन्दा अगाडि उनीहरूले विभिन्न युट्युब च्यानललाई अन्तरवार्ता दिएर हिँडेका थिए । अन्तरवार्तामा दुवैको भागभंगीमा हेर्दा अभूतपूर्व खुशी देखिन्छन् ।

एलिना र विष्णुले बेहिचकिचाहट विवाह अघि र पछि आफूहरुबीच भएका अन्तरंग कुराकानीका फेहरिस्त सुनाइरहेका छन् । एउटा अन्तरवार्तामा एलिनाले विष्णुसँग विवाह गर्न आफ्नो सपना पूरा भएको भन्दै खुशी व्यक्त गरिन् । बिहेका लागि आफूले नै प्रस्ताव राखेको उनको स्वीकारोक्ति छ ।

एलिनाले विष्णुसँग बिहे गरेपछि आफूलाई व्यवसायिक जीवनमा समेत सजिलो भएको बताइन् ।

उनी भन्छिन्, ‘मैले गार्जियनजस्तो पाएको छु । मलाई कति सजिलो हुन्छ । म केही जान्दिनँ क्या । मान्छेले युज गरेको पनि थाहा पाउँदिन । हेर्दा मात्रै बाठी हो । उहाँले नै सबै गाइड गर्नुहुन्छ । मलाई यति धेरै सजिलो छ अहिले । केही डिल गर्नु पर्दैन । कसैसित छुच्ची हुनु पर्दैन । केही बोल्नु पर्दैन । सबै उहाँले गरिदिनुहुन्छ ।’

यता विष्णुले भने एलिनालाई अष्ट्रेलियामै लगेर आफूसँग राख्ने योजना बनाएका छन् । अष्ट्रेलियाबाटै एलिनाले गीत रेकर्ड गरेर युट्युबमा राख्ने र दसैँ तिहारमा नेपाल आउने उनले सुनाए ।

विष्णुले भने, ‘मैले उता पनि आफ्नो व्यवसाय छाडिहाल्न मिल्ने अवस्था छैन । सबै ‘वेल म्यानेज्ड’ भए पनि आफ्नो निगरानीमा हुनुपर्छ । अबको समय दुई–चार महिना म उता एकदम बिजी हुने समय हो । एलिनाको मेला महोत्सव सकिएर क्वाइट हुन्छ अब । उनी सिंगर हुन् । उताबाट गाएर पनि पठाउन मिलिहाल्छ । उता समीर आचार्यको स्टुडियो छ । त्यहाँ गाएर यता पठाउने । गीतहरू कन्टिन्यू आइरहन्छन् । उनको आफ्नै च्यानल पनि छ । उतैबाट गाएर हाल्न सक्छौँ । दशैं–तिहारमा पारिवारिक भेटघाट पनि हुने र त्यतिबेला मेला महोत्सवको सिजन पनि हुन्छ । उता मेरो क्वाइट हुने टाइम हो । त्यस बेला नेपाल आउँछौँ ।’