कोशीको मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

कोशीको मुख्यमन्त्रीमा कार्कीले दाबी पेश गर्दै

काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् ।

उनी यसअघि दुई पटक मुख्यमन्त्री भइसकेका छन् । २९ पुस २०७९ पहिलो पटक माओवादी केन्द्र, जसपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले केन्द्रमा सत्ता समीकरण फेरिएपछि १४ असार २०८० मा राजीनामा दिए ।

सर्वोच्च अदालतको परादेशपछि २२ भदौ २०८० मा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका कार्कीले २० असोजमा राजीनामा दिए । केन्द्रमा पुनः एमाले र माओवादी केन्द्रको गठबन्धन बनेपछि कार्की तेस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।

दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।