आईपीएल :कोलकाताले लखनउलाई हरायो, चेन्नईसँग पञ्जाब स्तब्ध

आईपीएल :कोलकाताले लखनउलाई हरायो, चेन्नईसँग पञ्जाब स्तब्ध

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सलाई ९८ रनले पराजित गरेको छ ।

गए राति भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । २३६ रनको विजय लक्ष्य पछ्याएको लखनउ १६।१ ओभरमा १३७ रन बनाउँदै अलआउट भएपछि कोलकाताले ९८ रनको जित निकालेको हो ।

यो जितसँगै ११ खेलमा ८ जित निकालेको कोलकाता १६ अंकका साथ पहिलो स्थानमा छ । समान अंक भए पनि राजस्थान रोयल्स नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ भने ११ खेलमा ६ जित निकालेको लखनउ पाँचौँ स्थानमा छ ।

त्यस्तै आइतबार नै भएको खेलमा चेन्नई सुपर किङ्सले पञ्जाब किङ्सविरुद्ध २८ रनको जित निकालेको छ । सुरुवाति ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।

१६८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले ९ विकेटको क्षतिमा १३९ रन मात्र जोड्न सक्दा २८ रनले पराजित भएको हो ।

यो जितसँगै चेन्नई अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पञ्जाब भने आठौँ स्थानमा छ । आईपीएलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ ।