मुख्यमन्त्री सोडारी आज पनि विश्वासको मत लिने तयारीमा, एमालेले मत नदिने

मुख्यमन्त्री सोडारी आज पनि विश्वासको मत लिने तयारीमा, एमालेले मत नदिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समर्थनमा मुख्यमन्त्री बनेका सोडारीले आज विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री सोडारीले यसअघि शुक्रबार साँझ ५ बजे विश्वासको मत लिने प्रयास गरे पनि एमालेले मत नदिने भएपछि बैठक स्थगित गरेका थिए ।

विश्वासको मतका लागि प्रदेशसभाको बैठक शनिबार साँझ साढे ५ बजेका लागि बोलाइएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरिरहेको भए पनि एमालेले आज पनि विश्वासको मत नदिने भएको छ । आफूहरूसँग छलफल नै नगरी विश्वासको मत लिन लागेको भन्दै मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । 

'पार्टी नेतृत्वसँग छलफल गर्न म आज नै काठमाडौं जाँदैछु,' रावलले  भने, 'यसरी कहाँ चल्छ र हतार गरेर हुँदैन नि ।'  छलफल नै नगरी अगाडि बढे एमालेले केही गर्न नसक्ने उनको भनाइ छ ।  सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विश्वासको मत लिन उनलाई ५ जेठसम्मको समय छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एस, नाउपा र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।

प्रदेशसभामा हाल कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।