बझाङमा एमालेबाट निर्वाचित दमन भण्डारी को हुन् ?

बझाङमा एमालेबाट निर्वाचित  दमन भण्डारी को हुन् ?

धनगढी । बझाङ प्रदेश १ (क) को उपनिर्वाचनमा एमालेका दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी आइतबार विजयी भएका हुन् ।

एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा कांग्रेसका सिंह ११ हजार ३ सय ४३ मतमा रोकिए । यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरेका छन् भने नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन् ।

२०७९ सालमा भएको निर्वाचनमा विजयी पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि शनिबार उपनिर्वाचन भएको थियो ।

को हुन भण्डारी ?

दमन भण्डारी बझाङको छबिसपाथिभेरा गाउँपालिका –१ मा विक्रम सम्वत् २०२४ जेठ १४ गते जन्मिएका हुन् । भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववियुमा आवद्ध भएका थिए ।

उनले नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर थुप्रै समाज सुधारका काम समेत गरे । २०५४ सालमा उनी नेकपा मटेला गाविसका अध्यक्ष निर्वाचित भए । २०५५ सालमा नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित हुन पुगे ।

त्यसपछि उनी युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बने । नेकपा एमालेभित्र राम्रो छाप छोडेका भण्डारी २०६९ सालमा जिल्ला कमिटी सचिवका रूपमा चुनिए । २०७८ सालदेखि हालसम्म उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन् ।

उनलाई एमालेभित्र इमानदार, भद्र र शालीन व्यक्तित्वको रूपमा चिन्ने गरिन्छ । उनका श्रीमती र एक छोरी छन् । प्रदेश सभा–१ को उपनिर्वाचनको प्रचार अभियान चलिरहेको बेला उनका बुबा चक्र भण्डारी निधन भएको थियो ।