सूचनामा युवाको पहुँच बढाउनुपर्नेमा जोड

सूचनामा युवाको पहुँच बढाउनुपर्नेमा जोड

धनगढी । स्थानीय तहले प्रवाह गर्ने सूचनामा नागरिकको पहुँच बढाउनुपर्नेमा सरोकारवाला निकायले जोड दिएका छन् । आइतबार अकाउन्टीविलीटि ल्याबले आयोजना गरेको कार्यक्रम सूचनामा युवाको पहुँच अन्तरक्रियामा सहभागीले यस्तो बताएका हुन् ।

स्थानीय तहले सूचना दिइरहेको भए पनि त्यसलाई अझै प्रभावकारी ढङ्गले अघि बढाउनुपर्ने अपाङ्गता महासंघ सुदूरपश्चिम प्रदेशका नरदिप धामीले बताए । उनले सूचना सबैका लागि बराबर भएको हुँदा जुनै सुकै क्षेत्रका मानिसले पनि बराबर रुपमा प्राप्त गर्न पाउनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरूलाई सूचना लिनमा समस्या हुने गरेको बताए । पालिकामा राखेको सूचना मात्रै सबैको पहुँचमा नभएको हुँदा स्थानीय तहले सूचनालाई सबैको पहुँचमा ल्याउनुपर्ने बताए । १२ प्रकारका अपाङ्गता भएकाहरूले पनि समान रुपमा सूचना पाउनुपर्नेमा उनको जोड थियो ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी मानसिंह विष्टले सूचना सहजै पाउने वातावरण मिलाउनुपर्नेमा जोड दिए । यस्तै कानुनका विद्यार्थी बम बहादुर विकले अपाङ्गता भएका ब्याक्तिहरुको लागि सूचना प्रभाव गर्दा विशेष ध्यान दिनुपर्ने बताए । उनले सूचनालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर स्थानीय तहले ध्यान दिनुपर्ने सुझाव दिए । उनीहरूका लागि अडियो भिडियो अथवा अन्य माध्यमहरूलाई प्रभावकारी बनाउनुपर्ने बताए । 

एकता नेपालका राज चौधरीले लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई लक्षित गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । यस्तै मुस्लिम समुदायका पप्पु कुरेशीले यस समुदाय लक्षित कुनै पनि कार्यक्रम स्थानीय तहले गर्न नसकेको बताए । स्थानीय तहले अन्य समुदायलाई समेटेर कार्यक्रमहरू सञ्चालन गरिरहेको भए पनि यस समुदाय लक्षित भने कुनै कार्यक्रम हुन नसकेको बताए । उनले आगामी दिनमा यस समुदायलाई समेटिने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

गणेश खड्काले नीति तथा योजना छनौटमा युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिए । यस विषयमा युवासम्म सूचना नै नपुग्ने उनले गुनासो गरे ।

पत्रकार दीर्घराज उपाध्यायले सूचना माग्न जानेको संख्या न्यून रहेको बताएका छन् । उनले सूचना माग्नु भनेको पत्रकारले मात्रै हो भन्ने बुझाई गलत रहेको बताएका छन् । उनले सही सूचनाले मानिसलाई जुनसुकै क्षेत्रमा पनि काम गर्न सहज हुने बताउँदै  सूचना माग्न भने छोड्न नहुँने बताए ।

वडा नम्बर १८ का वडा अध्यक्ष भूवन रिजालले युवा लक्षित कार्यक्रमहरू वडाले गरिरहेको बताएका छन् । उनले आफ्नो वडाले बजेट बनाउँदा युवालाई समेटेर बनाउने बताए । कतिपय काम गर्दा गर्दै छुटेको हुन सक्ने हुँदा आगामी दिनमा त्यसलाई पनि समेटेर लगिने बताए ।

धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्रसिंह कार्कीले सूचना लिन आउने जो सुकैलाई पनि सूचना दिइने बताए । उनले दिन मिल्ने सूचना उपमहानगरपालिकाबाटै दिने बताए । 

उनले अन्य सबै सूचना उपमहानगरपालिकाको फेसबुक पेज र वेबसाइटबाट दिइने बताए । उनले सूचनालाई अझै प्रभावकारी र सहज रुपमा पु¥याउन आगामी दिन थप प्रभावकारी काम गर्दै अघि बढ्ने बताए ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उपमहानगरपालिकाले विभिन्न माध्यमबाट सूचना दिइरहेको बताइन् । उनले उपमहानगरले युवा लक्षित विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गरेको बताइन । उनले सुदूरपश्चिमका ९ वटै जिल्लाका युवालाई सिपमूलक तालिम तथा रोजगारीमा समेटेको बताइन ।

बिषयबस्तुमाथि प्रकाश अकाउण्टीविलीटि ल्याब सुदूरपश्चिमका संयोजक गंगा भण्डारीले गरेका हुन् । उनले धनगढी उपमहानगरले युवाको क्षेत्रमा गरेका काम, रोजगारीको अवस्था लगायत समग्र युवाका समस्याहरू अध्ययन गरेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेकी हुन् ।

कार्यक्रममा जनप्रतिनिधि, सामुदायिक शाखा प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि पत्रकार, लगायत युवाको सहभागिता रहेको थियो । कार्यक्रमको समापन अकाउण्टीविलीटि ल्याबका सुचिता श्रेष्ठले गरेका हुन् । कार्यक्रमको सञ्चालन अकाउण्टीविलीटि ल्याबका तेज बोहराले गरेका हुन् ।