तत्काल पानी नपर्ने, गर्मी अझै बढ्ने

तत्काल पानी नपर्ने, गर्मी अझै बढ्ने

काठमाडौं । देशका धेरै क्षेत्रमा केही दिनयता तापक्रम बढ्दो क्रममा छ । गर्मीले कतिपय स्थानमा दैनिक जीवनयापनमा समेत समस्या हुन थालेको छ । तापक्रममा तत्काल गिरावट आउने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा आउँदा केही दिन तापक्रम अहिलेकै जस्तो वा थोरै बढी हुन सक्ने पूर्वानुमान छ । “केही दिन गर्मी बढ्ने देखिन्छ । तत्काल तापक्रम घट्ने सम्भावना छैन,” महाशाखाका मौसमविद् रोजन लामिछानेले भने ।

पश्चिमको तुलनामा पूर्वी तराई क्षेत्रमा हिजोअस्ति तापक्रम केही कम थियो । अब पूर्वी तराईमा पनि तापक्रम उकालो लाग्ने सम्भावना रहेको उनले बताए । “हिजोअस्तिको तुलनामा पूर्वी मधेससहित पूर्वी तराईमा तापक्रम केही बढ्ने देखिन्छ,” उनले भने, “पश्चिमी तराई क्षेत्रमा त अहिले पनि तापक्रम बढी नै छ ।”

तल्लो पहाड र तराई–मधेस क्षेत्रमा गर्मी अझै बढ्ने सम्भावना रहेको उनले बताए । तर, तापक्रम अत्यधिक वृद्धि हुने स्थिति नदेखिएको उनले स्पष्ट पारे । “पश्चिमी क्षेत्रमा तापक्रम यथावत् वा अहिलेको भन्दा केही बढी हुनसक्छ,” उनले भने, “धेरै नै बढ्नेजस्तो देखिँदैन ।”

कुनै नयाँ मौसमी प्रणाली भित्रिएर तत्कालै वर्षा हुने सम्भावना समेत नरहेको उनले बताए । देशका अधिकांश स्थानमा आउँदा केही दिन वर्षाको सम्भावना नरहेको उनले जानकारी दिए ।

“वर्षा भइहाल्ने सम्भावना छैन । कुनै त्यस्तो प्रणाली देखिएको छैन,” उनले भने, “पूर्वी र पश्चिमी केही क्षेत्रमा हल्का, पातलो बादल लाग्ने देखिन्छ । तर, त्यसले खासै असर गर्ने देखिँदैन ।”

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भूभागका केही स्थानमा भने मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण त्यस्तो सम्भावना रहेको उनले जानकारी दिए ।

तापक्रममा उल्लेख्य गिरावट आउने सम्भावना पनि तत्काल नरहेको उनले बताए । “पानी पर्ने नदेखिएकाले तापक्रम खासै घट्ने देखिँदैन,” उनले भने, “यथावत् वा थोरै घटबढ हुनसक्छ । आज पनि तापक्रम बढ्ने नै पूर्वानुमान छ ।”

महाशाखाले यसअघि शुक्रबार (भोलि) सम्म तराई क्षेत्रमा तातो लहर हुने भन्दै सतर्कता आउन आग्रह गरेको थियो । आफूहरूले मौसमको निगरानी गरिरहेको र सोहीअनुसार जानकारी गराउँदै जाने मौसमविद् लामिछानेले बताए ।