कुमार पौडेल मारिएको घटनाको छानबिन गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

कुमार पौडेल मारिएको घटनाको छानबिन गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।  

समितिले सोमबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग छलफल गरेपछि पौडेल मारिएको घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानविन गरी एक साताभित्र समितिमा प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । घटनाको सत्यतथ्य बाहिर ल्याउनेगरी छानबिन गरेर समितिलाई एक साता भित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति शशि श्रेष्ठले जानकारी दिनु भयो ।

बैठकमा समितिका सदस्यहरुले पौडेलकाे मुठभेडमा नभइ प्रहरीले हत्या गरेको दाबी गर्दै सत्यतथ्य तत्काल बाहिर ल्याउन माग गरेका थिए । समितिका सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले ५/६ ठाउँ हात भाँचेर हत्या गरिएका पौडेललाई मुठभेडमा मारिएको भनेर सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरेको भन्दै आपत्ति जनाउनु भयो । संवैधानिक बाटोबाटै संविधान उल्लंघन गर्नेहरुलाई कारबाही गनुपर्नेमा सरकार आफैले गलत बाटो लिएको उहाँको भनाइ थियो ।

यता, गृहमन्त्री थापाले भने सरकारले चन्द नेतृत्वको नेकपासँग मुठभेड नचाहेको बताउनु भएको थियो । उहाँले चन्द नेतृत्वको नेकपालाई संविधानको बाटोबाटै राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले वार्ताको प्रयासलाई पनि जारी राखेको बताउनुभयो । गृहमन्त्री थापाले चन्द नेतृत्वको नेकपाको आतंककारी क्रियाकलापलाई मात्रै सरकारले नियन्त्रणमा लिने काम गरिरहेको दावी पनि गर्नु भयो ।

गएकाे ५ गते चन्द नेतृत्वको नेकपाका सर्लाही इञ्जार्ज पौडेलकाे प्रहरीकाे गाेली प्रहारबाट ज्यान गएकाे थियाे ।