वेस्ट इन्डिज ‘ए’ को लगेज चर्चा, क्यान भन्छ– यो सामान्य हो

वेस्ट इन्डिज ‘ए’ को लगेज चर्चा, क्यान भन्छ– यो सामान्य हो

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल आइपुगेको टेस्ट राष्ट्र वेस्ट इन्डिज ‘ए’ का खेलाडीको लगेज चर्चाुले अहिले सामाजिक सञ्जाल भरिएको छ । 

अनुभवी अलराउन्डर रोस्ट चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ बुधबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको थियो । तर, विमानस्थलमा उनीहरूले ल्याएको लगेज पिकअप भ्यानमा आफैँले हाल्दै गरेको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

वेस्ट इन्डिजको टोलीलाई नेपाली टिमका म्यानेजर विनोद दासलगायत नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । पाहुना टिमको स्वागतमा विमानस्थल पुगेका म्यानेजर दास खेलाडीको सबै लगेज बसमा नअटाउने हुँदा पहिले जसरी नै पिकअप भ्यान लगिएको बताउँछन् । 

“एकजना खेलाडीको लगेज नै तीन वटासम्म हुन्छ । खेलाडीलाई होटेलसम्म ल्याउन बसको व्यवस्था थियो । सबै लगेज बसमा नअट्ने हुँदा पिकअप भ्यान लगिएको हो । सबै देशमा लगेजका लागि त्यसरी नै छुट्दै भ्यान लगिन्छ,” दासले भने, “हाम्रोमा लगेजका लागि पिकअप भ्यान उपलब्ध भएकाले त्यही लगेका हौँ । त्यहाँ लगेज हाल्नका लागि छुट्टै व्यक्ति पनि थिए । खेलाडीहरूले नै पिकअप भ्यानसम्म लगेज लगेर गएकाले त्यस्तो देखिएको हो । लगेजका लागि पहिले पनि पिकअप नै लैजान्थ्यौँ । त्यो सामान्य कुरा हो ।” 

यी दुई टिमबीचको पहिलो खेल आउँदो शनिबार हुनेछ । दोस्रो खेल आइतबार, तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ खेल अर्को शनिबार हुनेछ । यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–२० विश्वकपअघि दुवै टिमले तयारीस्वरूप यो शृंखला खेल्न लागेका हुन् । शृंखलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले टोलीको घोषणा गर्न बाँकी नै छ ।