जनावरलाई पानी खुवाउन वनको बीचमा पोखरी निर्माण

जनावरलाई पानी खुवाउन वनको बीचमा पोखरी निर्माण

म्याग्दी । म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालेको हो ।


सहायक वन अधिकृत विनयबहादुर अधिकारीले पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताए ।

‘पानी र आहाराको खोजीमा वन्यजन्तु मानवबस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाउन लागिएको हो । वनमै पानी र आहारा भएपछि वन्यजन्तु मानवबस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ’, अधिकारीले भने ।

उनका अनुसार बेनी नगरपालिका–५ को जैरीखेत र गाज्ने, बेनी नगरपालिका–२ को सिद्धभूमे हरियाली, मालिका गाउँपालिका–१ को कल्लेरी, वडा नं७ को रानीवन, मंगला–२ को प्रगति, धवलागिरि गाउँपालिका–३ को दर र अन्नपूर्ण गाउँपालिका–२ को पातलखर्क सामुदायिक वनमा पोखरी निर्माणका लागि सम्झौता भइसकेका छन् । ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा बन्ने पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिनेछ ।

डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताए ।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा १० र २०७९/८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उनले जानकारी दिए ।

दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए ।

जिल्लामा पछिल्लो समयरतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानव बस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन् । यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई समेत आक्रमण गर्ने गर्दछन् ।