अछाममा मजदुरको २५ लाख ज्याला नतिरेर ठेकेदार शाह र शाही मोबाइल अफ गरेर फरार

अछाममा मजदुरको २५ लाख  ज्याला नतिरेर ठेकेदार शाह र शाही मोबाइल अफ गरेर फरार

अछाम ।  अछाममा कामदारको पैसा नदिएर ठेकेदार दुई वर्ष सम्म फरार रहेका छन । जिल्लाको मङ्गलसेन नगरपालिका ७ स्थित जाजरकोट मन्दिरको घेरा पर्खाल तथा सिडी निर्माणको ठेक्का पाएका ठेकेदार दिनेश शाह र नर बहादुर शाही फरार रहेका हुन ।

ठेकेदार शाह र शाहीले मजदुरहरूको करिब २५ लाख बढी ज्याला दिन बाकी रहेको बुझिएको छ । पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाहको फामबाट दिनेश शाहको उदयदिप संयुक्त निर्माण सेवाले सो निर्माणको काम गरिरहेको थियो । तर अहिले मज्दुरहरुको ज्याला दिन छोडेर दुई वर्ष देखि  दिनेश शाह र नर बहादुर शाही दुवै जना फरार रहेका छन । 

काम सम्पन्न भएको दुई वर्ष बढी भई सक्दा पनि ठेकेदार शाह र शाहीले मजदुरको ज्याला नदिएर भागेका हुन । राष्ट्रिय पर्यटन बोर्डको ७० प्रतिशत र मङ्गसैन नगरपालिकाको ३० प्रतिशत गरी करिब १ करोड ९० लाखमा ठेक्का ठेकेदार पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाहले पाएका थिए । 

अहिले मजदुरको ज्याला दिन पर्ने भए पछि ठेकेदार दिनेश शाह र सहायक ठेकेदार बनेका नर बहादुर शाही मोबाइल अफ गरेर सम्पर्क विहीन बनेका हुन ।

करिब १ सय जना मजदुरको ज्यालामा  ठेकेदार शाह र शाहीले  रजाइँ गरिरहेका छन । नगरपालिका भित्रका करिब १० ठाउँमा ठेकेदार शाहीले निर्माणको ठेक्का लिएको बुझिएको छ । तर अन्य वडाका मजदुरहरूले समेत ज्याला न पाएको गुनासो गरेका छन् ।

यता मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र सोडारीले नगरपालिका बाट दिने ३० प्रतिशत रकमको ५६ लाख  आफूहरूले भुक्तानी गरिसकेको बताए ।