बझाङ र इलाममा उपनिर्वाचन : करिब १७ सय कर्मचारी खटाइने

बझाङ र इलाममा उपनिर्वाचन : करिब १७ सय कर्मचारी खटाइने

धनगढी । यहि वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाइने भएको छ । बझाङ र इलाममा हुने उपनिर्वाचनमा निर्वाचन आयोगले कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ । 

आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।

मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने आयोगले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने छन् ।

उपनिर्वाचनमा परिचालन हुने जनशक्ति निर्वाचन अधिकृतको कार्यालयले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।