सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ

सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलामाथि गरेको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ ।

यसअघि गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

स्मरणीय छ कि, गौशाला २६ को जन्ममिति जिल्ला अदालतले नै निरुपण गरिसकेको विषय हो । जन्ममितिसँग सम्वन्धित सारा कागजातहरु पहिल्यै अदालतमा आइसकेका छन् । वडाबाट फेरि तिनै कागजात मगाउनुको उद्देश्य फैसला टार्नेभन्दा अर्को नरहेको सन्दीप पक्षको बुझाइ छ ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ ।