सूर्यकुमारलाई 'डगआउट' बाटै 'डीआरएस' लिन सङ्केत गरेपछि टिम डेभिड र पाेलार्डलाई जरिबाना

सूर्यकुमारलाई 'डगआउट' बाटै 'डीआरएस' लिन सङ्केत गरेपछि टिम डेभिड र पाेलार्डलाई जरिबाना

काठमाण्डाै । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम मुम्बई इन्डियन्सका ब्याटर टिम डेभिड र ब्याटिङ प्रशिक्षक कायरन पोलार्डलाई जरिबाना तिराएको छ ।

गएको बिहीवार चन्डीगढको मुलानपुरमा पन्जाब किङ्ग्ससँगको खेलमा आईपीएलको आचारसंहिता उल्लङ्घन गरेको भन्दै बीसीसीआईले डेभिड र पोलार्डलाई ‘म्याच फिस’ को २०–२० प्रतिशत जरिबाना गरेको क्रिकेटसम्बन्धी जानकारी दिने साइट क्रिकबजले जनाएको छ । मुम्बईको ‘डगआउट’ अर्थात् मैदान नजिकै खेलाडी बस्ने ठाउँबाट टिम डेभिड र कायरन पोलार्डले ब्याटर सूर्यकुमार यादवलाई वाइड बलका लागि ‘डीआरएस’ का लागि इसारा गरेको र लिनका लागि सहयोग प्रदान गरेको देखिएको खबरमा उल्लेख छ ।

मुम्बईको पारीको १५ औँ ओभरमा अर्शदीप सिंहले सूर्यकुमार यादवलाई अफ सटम्पको बाहिर बलिङ गरेका थिए । अम्पायरले त्यो बललाई वाइड दिएका थिएनन् । स्क्रिनमा डेभिड र पोलार्डले ‘डीआरएस’ लिनका लागि सूर्यकुमारलाई इसारा गरेको देखिएको थियो । त्यसपछि सूर्यकुमारले अम्पायरसँग डीआरएसको माग गर्छन् र डीआरएसको रिभ्युपछि थर्ड अम्पायरले वाइड बलको संज्ञा दिएका थिए । यो खेल मुम्बईले ९ रनले जितेको थियो ।