टिपरको ठक्करबाट एक जनाको मृत्यु

टिपरको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुरको हेटौँडामा टिपरको ठक्करबाट घाइते भएका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्‍याङ बस्ने ५५ वर्षका भीमबहादुर बिडारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार शनिबार साँझ टिपरको ठक्करबाट घाइते भएका बिडारीलाई हेटौँडा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । थप उपचारका लागि हेटौँडा– ११ स्थित चुरेहिल अस्पताल हुँदै चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा पुर्‍याइएका बिडारीको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

शनिबार साँझ हेटौँडा– १० स्थित बसपार्क पिपलबोटमा बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र.२–०३–००१ ख ६८५४ नम्बरको टिपरले बा.प्र.०३–००५ प ३५११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट दाँया हात र शरीरका विभिन्न भागमा चोट लागेका बिडारीको उपचारको क्रममा मृत्यु भएको हो । मृतक बिडारीको शव पोस्टमार्टमका लागि चितवनस्थित सरकारी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।