‘छक्का पञ्जा ४’ विवाद : निर्देशक हेमराज विसीले दिए प्रहरीमा उजुरी

‘छक्का पञ्जा ४’ विवाद : निर्देशक हेमराज विसीले दिए प्रहरीमा उजुरी

काठमाडौं । २०७९ सालको ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा ४’को निर्माण समूह र निर्देशक हेमराज विसीबीचको विवाद सतहमा आएको छ । करिब ६ महिनादेखि अमेरिकामा रहेका निर्देशक विसीले निर्माण कम्पनी आमा सरस्वती मुभिज (दीपकराज गिरी समूहको ब्यानर) विरुद्ध काठमाडौं प्रहरीमा इमेलमार्फत् उजुरी दिएपछि फिल्मभित्रको विवाद बाहिरिएको हो । यसै साता प्रहरीले फिल्मको टिमलाई बोलाएर सोधपुछ गरेको थियो ।

स्रोतका अनुसार, फिल्ममा हेमराज २५ प्रतिशत सेयरमा बसेका थिए । सेयरबापतको रकम प्राप्त नभएपछि उनले अमेरिकाबाटै इमेलमार्फत् फिल्मको टिमविरुद्ध प्रहरीमा उजुरी दिएको जनाइएको छ । तर, दीपकराजले हेमराजको सेयर लगभग १२ प्रतिशत मात्र हुन आउने तर उनले त्योभन्दा धेरै पैसा लिएर गएको दाबी गरेका छन् । हेमराजले आफूहरुबाट ६५ लाख रुपैयाँ लगेको उनको भनाई छ ।

छक्का पञ्जाु समुहको माग्ने राजाु निर्देशन गर्दै हेमराज 

उनले भने, ‘उहाँले २५ प्रतिशत होइन, १० र १५ प्रतिशतको बीचमा सेयर पाउने सहमति थियो । उहाँलाई त्यही १२ प्रतिशत हुन पाउँछ । र, हामीबाट उहाँले ६५ लाख लग्नुभएको छ । सेयरको आधारमा उहाँले हामीबाट लग्नुभएको रकम धेरै हो । त्यो पनि आधी फिल्म मात्र निर्देशन गरेर । उहाँले फिल्म बिगारेपछि ‘रिसुट’ गर्नुपरेको थियो ।’ उनले हेमराजलाई नेपाल बसेर आफूहरुसँग ‘फेस’ गर्न चुनौती दिएका छन् ।

‘मान्छे अमेरिका भागेर गएको छ । यहाँ बसेर ‘फेस’ गर्नुपर्छ नि त । हामी आफैंले उहाँलाई अमेरिकामा ग्रीनकार्ड एप्लाई गर्न कागजपत्र बनाइदिएका थियौं,’ उनले अगाडि भने, ‘हामीले उहाँलाई पैसा दिन बाँकी छैन, बरु लिन बाँकी छ । हाम्रो मात्र होइन, उहाँले थुप्रैको पैसा तिर्न बाँकी छ ।’ मंगलबार हेमराजले पैसा तिर्न बाँकी केही व्यक्तिहरु निवेदन लिएर हनुमान ढोका प्रहरीमा गएको पनि उनले बताए ।

हेमराजले आफूहरुको बदनाम गराउने प्रयास गरेको दीपकरापको आरोप छ । उनी भन्छन्, ‘हामीमाथि हिलो छ्याप्ने नियत देखिन्छ । नभए त संघ(संस्था छ नि । त्यहाँ निवेदन खोइ रु आफू चाहिँ बाहिर बस्ने अनि यहाँ उहाँले पैसा तिर्नुपर्ने मान्छेको लाइन छ । आरोप त जसलाई लगाउन नि पाइयो । तर, त्यो पुष्टि गर्न सक्नुपर्छ । त्यो पुष्टि गर्न पहिला आफैंले ‘फ्रड’ काम गर्न बन्द गर्नुपर्छ ।’

हेमराज ‘छक्का पञ्जा ४’ रिलिजको केही समयपछि अमेरिका गएका थिए । त्यसपछि उनी नेपाल फर्किएका छैनन् । उनी फिल्म रिलिजको समयमा प्रचारमा समेत देखिएनन् । त्यसबेला नै फिल्मको टिमसँग उनको मनमुटावको खबर बाहिरिएको थियो । अमेरिका गएपछि भने उनले उतैबाट प्रहरीमा इमेलमार्फत् दीपकराज समूहविरुद्ध उजुरी दिएका हुन् ।