नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ६ विकेटले पराजित भएसँगै साविक विजेता समेत रहेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । 

शुक्रबार ओमानको अल अमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १२० रनको लक्ष्य १७.२ ओभरमा चार विकेट गुमाएर पुर्‍याउँदै यूएई प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

यूएईको जितमा अलिसान सरिफुले अविजित ५५ रन बनाए । विष्णु सुकुमारनले २८, सयेद हैदरले १४, कप्तान मुहम्मद वसिमले ११ र आसिफ खानले १० रन जोडे ।

नेपालका गुल्सन झाले दुई विकेट लिए । सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि सन्दीप जोराबाहेक अन्य ब्याटर चल्न नसक्दा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११९ रनमात्र बनाएको थियो ।

सन्दीपले ३९ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाएका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो तेस्रो अर्धशतक हो ।

गुल्सन झाले २० र करण केसीले १७ रन बनाए । यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाल आसिफ सेखलाई आठ रनमा गुमाउँदा कुशल भुर्तेल गोल्डेन डक भएका थिए । कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरी समान पाँच रनमा आउट हुँदा कुशल मल्लले पनि तीन रनमात्र थप्न सके । सोमपाल कामी दुई रन थपे ।

नेपाललाई सस्तैमा रोक्न यूएईका बसिल हमिद, अलि नासिर र जुनैद सिद्दिकीले समान दुई विकेट लिए । मुहम्मद फारुक, अयान अफजल खान र ओमिद सफी रहमानले एक–एक विकेट हात पारे । यूएईले अब उपाधिका लागि ओमान र हङकङबीचको विजेतासँग खेल्नेछ ।