भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सीमानाका बन्द

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सीमानाका बन्द

बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमा नाका बन्द भएका छन् । बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन् ।

भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमा नाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । 

उक्त अवधिमा सीमा नाकामा पूर्ण रूपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए । सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ । 

अप्रिल १९ तारिख (वैशाख ७ गते_ उत्तराखण्ड राज्यमा निर्वाचन हुँदैछ ।  निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने प्रजिअ शर्माले बताए।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ । भारतीय अधिकारीहरूसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन् ।