बाजुराका विद्यालयमा विद्यार्थी संख्या घट्दै

बाजुराका विद्यालयमा विद्यार्थी संख्या घट्दै

बाजुरा । बाजुराका अधिकांश विद्यालयलाई यो वर्षको नयाँ विद्यार्थी भर्ना अभियानमा कक्षा ६ र ९ मा विद्यार्थी कसरी ल्याउने भन्ने चिन्ता परेको छ । बुढीगङ्गा नगरपालिका र खप्तडछेडेदह गाउँपालिकालगायतका गाउँपालिकाले लिएको शैक्षिक सत्र २०८०  को पालिकास्तरीय परीक्षामा कक्षा ५ र ८ का अधिकांश विद्यार्थी अनुत्तीर्ण भएपछि यो वर्ष यहाँका विद्यालयलाई ६ र ९ कक्षामा नयाँ विद्यार्थी भर्नाको चिन्ता परेको हो । 

धुरालसैन माविका लेखापाल धीरज नेपालीका अनुसार गत वर्ष कक्षा ६ मा ३२ र ९ मा २९ जना भर्ना भएका थिए । यो वर्ष ती कक्षामा विद्यार्थीको सङ्ख्यामा निकै कम हुने अवस्था छ । यो वर्षको नगरपालिकाले लिएको नगरस्तरीय परीक्षामा कक्षा ५, ६ र ८ का ११ जना मात्र उत्तीर्ण भएका छन् । कक्षा ५ का नौ र ८ का २७ जना ग्रेड वृद्धिमा परेका छन् । ती पनि सबै फेरि अनुत्तीर्ण भएपछि यो वर्ष कक्षा ६ र ९ मा कहाँबाट विद्यार्थी ल्याएर भर्ना गर्ने भन्ने चिन्ता लागेको धुरालसैन माविका लेखापाल नेपालीले बताए।

यो समस्या धुरालसैनलाई मात्र होइन, यहाँका बुढीगङ्गा नगरपालिका र अन्य २० वटा विद्यालयलाई पनि उस्तै छ । नगरपालिकाले लिएको नगरस्तरीय परीक्षामा सहभागी भएका कक्षा ५ मा  २१ र कक्षा ८ मा  १३ वटा विद्यालयका दुईरचार जनाबाहेक सबै अनुत्तीर्ण भएपछि यी विद्यालयलाई पनि यो समस्या भएको हो । 

खप्तडछेडेदह गाउँपालिकाको काँडा, जयवागेश्वरी, डोगडी, आटीचौरलगायतका अधिकांश विद्यालय पनि यस्तै समस्या आएको छ । खप्तडछेडेदह गाउँपालिकाले लिएको कक्षा ५ र ८ को परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएपछि ती विद्यालय यो समस्या आएको हो ।

यो वर्ष यहाँका अधिकांश विद्यालयमा गत वर्षकै तुलनामा कक्षा १ , २ , ३ , ४ , ५, ७, ८ र १० कक्षाका विद्यार्थी भर्ना हुने देखिए पनि ६ र ९ कक्षामा भने विद्यार्थी खोज्नुपर्ने अवस्था आएको छ । यी बेला बाजुराका २३७ वटा विद्यालयले शैक्षिक सत्र २०८१ को नयाँ विद्यार्थी भर्ना अभियान कार्यक्रम सुरु गरेका छन् । 

शैक्षिक सत्र २०८० को वार्षिक परीक्षाको चैतमै परीक्षाफल प्रकाशन गरेसँगै अहिले बाजुराको नौ वटा स्थानीय तहका विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेको  जिल्ला शिक्षा एकाइ समन्वय समिति बाजुराले जनाएको छ ।  गोरखापत्रबाट