प्रधानमन्त्री कप महिला क्रिकेट : घरेलु टोली सुदुरपश्चिमको दोस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेट : घरेलु टोली सुदुरपश्चिमको दोस्रो जित

कञ्चनपुर : कविता कुवँरको दोहोरो प्रदर्शनमा प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले दोस्रो सहज जित निकालेको छ। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चलिरहेको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो।

टस हार्दै ब्याटिङको निम्तो पाएको सुदुर पश्चिम प्रदेशले १६ दशमलब १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय रन जोडेको थियो। सुदुरपश्चिमका लागि कविता कुवँरले २५ बल खेल्दै सर्वाधिक ४३ रन जोड्दै ८ चौका हिर्काएकी थिइन्। त्यस्तै कविता जोशीले २ चौका हिर्काउँदै १९ रन जोड्दा अरु ब्याट्सवुमनले दोहोरो अंकमा रन जोड्न नसक्दा १ सय रनमा समेटिएको थियो।

बलिङतर्फ प्रदेश ५ का लागि नेरि थापा र एलिशा थापाले समान ३-३ विकेट प्राप्त गरिन्।

१ सय १ रनको लक्ष्य पाएको प्रदेश ५ ले १६ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ४९ रनमा समेटिएको थियो। प्रदेश ५ का लागि लक्ष्मी चौधरीले सर्वाधिक १२ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंगमा जोड्न नसक्दा ५१ रनले हार बेहोर्नु पर्‍यो।

बलिङतर्फ प्रदेश ५ लाई सस्तोमै समेट्न सुदुरपश्चिम प्रदेशका लागि कप्तान जानकी भट्टले सर्वाधिक ३ विकेट चट्काउदा कविता कुवँर, सुमन बिष्ट र लक्ष्मी साउदले समान २-२ विकेट र कविता जोशीले १ विकेट प्राप्त गरेकी  थिइन्।

सुदुरपश्चिमको जितमा ४३ रनसहित २ विकेट लिदै दोहोरो प्रदर्शनकी कविता कुवर लगातार दोस्रोपटक प्लेयर अफ द म्याच घोषित भइन् कवितालाई कञ्चनपुर ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेले प्लेयर अफ द म्याचको पुरस्कार प्रदान गरेका थिए। आइतबार साझ एपीएफ र गण्डकी प्रदेशबीच खेल हुनेछ।