सलमानको घरबाहिर गोली चलाउने दुई जना आरोपी पक्राउ

सलमानको घरबाहिर गोली चलाउने दुई जना आरोपी पक्राउ

काठमाडौं । बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जनालाई पश्चिमी कच्छबाट पक्राउ गरेको गुजरात प्रहरीले पुष्टि गरेको छ । प्रहरीले मंगलबार दुवै आरोपीसँग सोधपुछ गर्ने जनाइएको छ ।

यी दुवै सुटर लरेन्स विष्णोई ग्याङसँग सम्बन्धित भएको बताइएको छ ।  पक्राउ परेका २४ वर्षीय विक्की गुप्ता र २१ वर्षीय सागर श्रीजोगेन्द्र पालमाथि आइतबार बिहान सलमानको घरबाहिर गोली चलाएको आरोप छ ।

प्रहरीका अनुसार घटनापछि यी दुवै मुम्बईबाट भागेका थिए । त्यसपछि दर्शन गर्न भन्दै माधनी माता मन्दिरमा पुगेका थिए । यी दुवै सुटर बिहारको पश्चिमी चम्पारणका बासिन्दा भएको बताइएको छ । बिहारसँग घटनाक्रम जोडिएपछि बिहार प्रहरी पनि सतर्क बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि पनि ग्याङका दुई सुटर बिहारबाट पक्राउ परिसकेका छन् । लरेन्स विष्णोई यतिबेला गुजरातको साबरमती जेलमा कैद छन् ।


यो घटनामा सुटरले केही दिनअघि बान्द्रास्थित सलमानको निवास ग्यालेक्सी अपार्टमेन्टको रेकी गरेको र लरेन्स विष्णोईका भाइ अनमोलले फेसबुक पोस्ट गर्न भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गरेको प्रहरीको आशंका छ ।