प्रधानमन्त्री दाहल र खनालबिच भेट, सुदूरपश्चिमको विवाद साँझ सम्म मिलाइने

प्रधानमन्त्री दाहल र खनालबिच भेट, सुदूरपश्चिमको विवाद साँझ सम्म मिलाइने

धनगढी । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने बताएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले भने सुदूरपश्चिमको विवाद आज साँझसम्म मिलाउने आश्वासन दिएका छन् ।

केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएपछि सत्ता गठबन्धनभित्र तनाव सिर्जना भएको हो ।

एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति गरेका छन् । 

सो सहमति अनुसार लक्ष्मणकिशोरले आइतबार नाउपाका ७ जना, कांग्रेसका १८ जना र एकीकृत समाजवादीका ४ जना गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन आफूलाई भएको भनेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

यसैगरी नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि नाउपाका ७, एमालेका १०, माओवादी केन्द्रका १० र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी गरी २८ जनाको समर्थन आफूलाई भएको भन्दै आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

एउटै पार्टीबाट दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखले परामर्श गर्ने भन्दै निर्णय लिएका छैनन् ।