कुमार पौडेलको हत्या पञ्चायती बर्बरता जस्तो : जनार्दन शर्मा

कुमार पौडेलको हत्या पञ्चायती बर्बरता जस्तो : जनार्दन शर्मा

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यालाई पञ्चायती बर्बरतासँग तुलना गरेका छन्।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै शर्माले हात काटेर छियाछिया पारेर मारिएको आफूले बुझेको बताए।

'दुईतीन दिनमा मैले पौडेललाई कानुन संविधान हुँदाहुँदै पनि निर्मम ढंगले मारिएको बुझें। हात पनि धेरै ठाउँमा भाँचेर छियाछिया पारेर मारिएको भन्ने सूचनाहरु त्यहाँको जनस्तरबाट बुझेको हुनाले यो घटना हेर्दाखेरी मलाई धनमाया, ललित रोकाको हत्याको सम्झना आयो', उनले भने, 'यो घटना पञ्चायती कालमा भएका बर्बरताको जस्तो भयो।'

शर्माले संविधान र कानुन भएको र त्यसभित्र रहेर कारबाही गर्नुपर्नेलाई कारबाही गर्न उचित हुने र त्यसमा आपत्ति नहुने भन्दै पौडेलको हत्या भने अलि गम्भीर भएको भन्दै ध्यानाकर्षण गराए।

'त्यहाँ किन यस्तो घटना घट्यो। कहाँनेर यो समस्या पैदा भयो भन्ने कुराको यदि बेलैमा सही ढंगले सच्याउन र कारबाही गर्न सकेनौं भने यसले राम्रो दिशातिर लैजादैन', उनले भने।

शर्माले पौडेल हत्याको घटनाबारे सम्बन्धित निकायलाई बोलाएर त्यसको सत्यतथ्य जानकारी लिन समितिमा माग गरे।। 'छियाछिया पारेर मारियो भन्ने सूचना आएको छ। त्यो सत्य हो कि होइन? सत्य के हो, त्यो चाहियो। सत्य यो हो भनेर जनतालाई भन्नुपर्‍यो। त्यो गरेनौं भने त्यसबाट धेरै समस्यामा पर्छौं भन्ने लागिरहेको छ', उनले भने। 

शर्माले अहिले हरेक विषय संघीयतासँग जोड्ने र जनता भड्काउने काम भइरहेको भन्दै असन्तुष्टि जनाए। अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसरी असफल गर्ने भन्नेमा चौतर्फ ढंगले घेराबन्दी भइरहेको छ। उनले भने, 'जेलाई पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याएर जोड्ने काम भइरहेको छ।'

समिति सभापति शशी श्रेष्ठले सोमबारको बैठकमा विपद् विधेयकको विषयमा जानकारी लिन गृह प्रतिनिधिलाई बोलाइएकोले शर्माले उठाएको विषयलाई पनि त्यसैसँग जोडेर छलफल गरिने भन्दै सांसदहरुलाई आश्वस्त पारिन्।