सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर उम्मेदवार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर  उम्मेदवार

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षलाई समर्थन गरेर जाने समझदारी बनेको छ ।

कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घबहादुर सोडारीबीच उक्त विषयमा प्रारम्भिक समझदारी बनेको बताइएको छ ।

नाउपाका संरक्षक रेशम चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी समेतको समर्थनमा मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने बताए । 

नाउपाको रेशम पक्षले लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ भने रञ्जिता श्रेष्ठ पक्षले कैलाश चौधरीलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

नाउपा अध्यक्ष श्रेष्ठ भने केन्द्रमा गठबन्धनका शीर्ष नेताबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति भएको बताउँदै आएकी छन् । नेताहरूकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच यो समझदारी भएको थियो ।

नाउपाको रेशम पक्षलाई नेकपा एकीकृत समाजवादीले साथ दिएमा उसको पक्षमा २६ जना पुग्छन् । कांग्रेसका १८, नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टी रेशम पक्षका ४ जना सांसद छन् । प्रदेश प्रमुखले सरकारमा दाबी पेश गर्न दिएको समयसीमा आइतबार साँझ ५ बजे सकिंदैछ ।