निकुञ्ज घुम्न आएका पर्यटक बचाउन खोज्दा नेचर गाइड सुवासको गैँडाको आक्रमणबाट मृत्यु

निकुञ्ज घुम्न आएका पर्यटक बचाउन खोज्दा नेचर गाइड सुवासको गैँडाको आक्रमणबाट मृत्यु

चितवन । नयाँ वर्षको दिन पर्यटकलाई लिएर चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रको जंगल वाकमा गएका एक नेचर गाइडको गैँडाको आक्रमणबाट जंगलमा नै ज्यान गएको छ । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा आज बिहान दुईजना पर्यटक लिएर गएका ३३ वर्षका नेचर गाइड सुवास रेग्मीलाई गैँडाले आक्रमण गर्दा ज्यान गएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बिहानै दुई पर्यटक लिइ गएका रेग्मीले गैँडाले आक्रमण गर्न लागेपछि पर्यटक बचाउन खोज्दा आफ्नै ज्यान गएको हो ।

उनी बिहानैदेखि हराइरहेका थिए । तर, उनलाई भने निकुञ्ज र नेपाल प्रहरीका सुरक्षाकर्मीसहित हात्तीमा गएको टोलीले करिब पौने १२ बजेको समयमा मात्रै सिकिस्त घाइते अवस्थामा जंगलमा भेटेको थियो । तिवारीका अनुसार निकुञ्जको हात्ती प्रजनन केन्द्रको पश्चिम क्षेत्रतर्फ रहेको मृगकुञ्ज उपभोक्ता समिति अन्तर्गतको मध्यवर्ती क्षेत्रमा उनी भेटिएका थिए ।

सख्त घाइते रेग्मीलाई उपचारको लागि चितवन मेडिकल कलेज भरतपुरमा पठाइएकोमा दिउँसो पौने दुई बजेको हाराहारीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक नेचर गाइड रेग्मीको स्थायी ठेगाना गोरखाको आरुघाट ८, पोखरी हो भने उनी रत्ननगर नगरपालिका ६, सौराहामा डेरा गरि बस्दै आएका थिए । उनी जंगल वल्र्ड रिसोर्ट सौराहाका नेचर गाइड रहेका चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र मध्यवर्ती क्षेत्रमा जंगलमा हिँडेर पर्यटक घुमाउने गरिन्छ । तर, यसरी जंगल वाकमा जाँदा गाइड कै मृत्यु हुनेगरि भने यस्तो घटना भएको पहिलोपटक आफूले थाहा पाएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउँछन् ।