नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै

नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाडौं । एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर मलेसियाका कप्तान अहमद फैजले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए । 

यसअघि घरेलु मैदानमा भएको प्रतियोगिताको उपाधि जित्दै नेपालले गत संस्करणको एसिया कप खेलेको थियो । आज मलेसियाविरुद्ध मैदान उत्रिँदा नेपाली टिम सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ । यसअघि एकदिवसीय संरचनामा सञ्चालन भएको प्रतियोगिताको यस संस्करण भने ट्वान्टी–२० संरचनामा हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, साउदी अरेबिया र कतार छन् । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । गत संस्करणझै यस संस्करणमा पनि विजेताले आगामी वर्ष ट्वान्टी–२० संरचनामा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ ।