सुदूरपश्चिम सरकारको नेतृत्वमा नाउपा, मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा

सुदूरपश्चिम सरकारको नेतृत्वमा नाउपा, मुख्यमन्त्री को बन्ने भन्ने विषयले लफडा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीले गर्ने निश्चित भएको छ । सरकारको नेतृत्व पाए पनि मुख्यमन्त्री को बन्ने भन्ने विषयमा भने पार्टीभित्र विवाद देखिएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा छिन् । केही समय अघिसम्म दलका नेता रहेका घनश्याम चौधरीलाई हटाएर उनले कैलाश चौधरीलाई दलको नेता बनाउन पत्रसमेत पठाएकी छन् । उनले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने गरी संसदीय दलको नेता बनाउने प्रयास थालेकी हुन् ।

तर, बहुमत प्रदेशसभा सांसदहरूले भने लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउने प्रयास थालेका छन् । सामाजिक विकासमन्त्री समेत रहेका लक्ष्मण किशोर चौधरीसहित अन्य तीन सांसदले चौधरीलाई मुख्यमन्त्री बनाउने लिखित सहमति भएको बताएका छन् । पार्टी नेतृत्वले कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहे पनि बहुमत सांसदले भने लक्ष्मणलाई मुख्यमन्त्री बनाउने प्रयास गरिरहेका हुन् ।

''नाउपालाई नेतृत्व गर्न दिइने भन्ने सहमति छ, केन्द्रमा जुन पार्टी अध्यक्षले पनि पहल गर्नुभएको छ त्यो एकदमै सराहनीय काम हो सबै जना उत्साही छौँ,'' लक्ष्मण भन्छन्, ''संसदीय दलका तर्फबाट सहमतिमा मलाई नै अघि सरिएको छ ।''

मुख्यमन्त्रीमा कैलाशको पनि नाम आएको लक्ष्मणले स्वीकार गरे । सुदूरपश्चिममा ७ जना नाउपा सांसद भए पनि कारबाहीपछि ६ जना रहेको उनले बताए । तर, सातै जनाले आफूलाई बहुमतीय प्रणालीबाट मुख्यमन्त्रीमा सहमति गरेको उनको दाबी छ ।

''पार्टीभित्र कैलाशजीले पनि मुख्यमन्त्री बन्ने इच्छा राख्नुभएको छ,'लक्ष्मणले भने, 'पार्टी विधि पद्धतिबाट चल्ने भएको हुँदा पार्टीभित्र पनि मूल्याङकन गर्ने क्राइट एरिया छन् । कैलाशजीले इच्छा व्यक्त गरे पनि सबैले पार्टीको संस्थापक र केन्द्रीय सस्दस्यको नाताले मलाई नै छानेका छन् ।''

जसले बहुमत पाउँछ उसैले नेतृत्व गर्ने देशको परिपाटी रहेको लक्ष्मणले तर्क गरे । सोहीअनुसार आफूसँग बहुमत रहेकाले मुख्यमन्त्री पनि आफैँ बन्नेमा ढुक्क रहेको उनको भनाइ छ । सुदूरपश्चिम सरकारको मुख्यमन्त्री नाउपाले पाउने र मुख्यमन्त्री आफू बन्ने लक्ष्मणको दाबी छ ।

व्यक्तिले के भन्छ भन्ने कुरा मुख्य नभएको लक्ष्मणको तर्क छ । व्यक्तिगत रूपमा कसले कसलाई के भन्छ भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताए । संसदीय दलले जसलाई तोक्यो उसैले सरकारको नेतृत्व गर्न पाउनुपर्ने तर्क गरे ।

'नाउपा अध्यक्ष रञ्जिताले मुख्यमन्त्री बनाउने तयारी गरेका कैलाश चौधरी पनि आफूले सरकारको नेतृत्व पाउनेमा ढुक्क रहेको बताउँछन् । आफू मुख्यमन्त्री बन्ने विषयमा दुई मत नरहेको उनको भनाइ छ । शुक्रबार सरकारको प्रारम्भिक खाका ल्याउने र वैशाख १ मा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसहितको बुधबार बसेको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्तिलाई दिने सहमति भएको थियो ।

केन्द्रमा बनेको नयाँ गठबन्धनमा जुटको सहमतिअनुसार सुदूरपश्चिमको मुख्यमन्त्री पाएको नाउपा भने यही विषयले थप विवाद बढेको छ ।

विश्वासको मत पाउन नसकेपछि कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नाजिर मियाले वैशाख २ सम्म संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमत जुटाएर सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए । सत्ता गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नयाँ सरकारका लागि दाबी पेस गर्न लागेका हुन् ।

सुदूरपश्चिममा नाउपाका ७ सांसद थिए । इन्दिरा गिरीलाई पार्टीले फिर्ता बोलाएपछि अहिले ६ जना छन् । लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन ६ मध्ये ४ सांसदले सहमति गरेका छन् ।

यसअघि केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर उक्त जिम्मेवारी कैलाश चौधरीलाई तोकेकी थिइन् ।