मन्त्रालय फुटाउने गण्डकी सरकारको निर्णय, थपिए २

मन्त्रालय फुटाउने गण्डकी सरकारको निर्णय, थपिए २

पोखरा । गण्डकीमा मुख्यमन्त्रीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

यसअघि २०७९ पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए । यसपटक सत्ता संकटमा पर्ने देखिएपछि फेरि ९ मन्त्रालय बनाउने निर्णय गरेका हुन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिए ।

सँगै मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । हालै एमाले लमजुङको अध्यक्षमा हार व्यहोरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय भएको हो ।

गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वोच्चले दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ । मुख्यमन्त्री अधिकारीले मंगलबारको बैठकबाट निर्णय गरेको चुमानले जानकारी दिए ।

गण्डकीमा सभामुखलाई समेत प्रयोग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश गरेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए ।

२ सदस्य रहेको राप्रपा अनिर्णित हुँदा २७ सदस्य रहेको कांग्रेसका सुरेन्द्रराजले २१ गते राजीनामा दिएर ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति लिएका थिए । तर पाण्डेलाई रोक्दै मनाङे र सभामुखको सहित साथ लिएर एमाले-माओवादीले दाबी पेश गर्दा प्रदेश प्रमुखबाट अधिकारी नियुक्त भएका थिए ।