जीतपुरसिमरा गोल्डकप पुलिस सेमिफाइनलमा

जीतपुरसिमरा गोल्डकप पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब बुधबार जगदम्बा स्टिल १४औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बुधबार राति सिमरा रंगशालामा भएको क्वाटरफाइनलमा पुलिसले आयोजक नवजनजागृति युवा क्लबलाई उसकै मैदानमा स्तब्ध बनायो ।
आयोजकलाई २–१ गोलले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।


पुलिसको जितमा दुवै गोल उज्ज्वल राईले गरेका थिए भने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टीबाट गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रंगशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराश पार्दै उज्ज्वलले उत्कृष्ट सुरुआत दिलाएका थिए । दायाँ कर्नर एरियाबाट आयोजकका डिफेन्डरहरू बिट गर्न सफल सुजन मगरको पासमा उज्ज्वलले गोल गरेका थिए ।

सुरुआतमै दबाबमा परेको आयोजक खेलको पाँचौं मिनटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका नीरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई बक्सभित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्ज्वल थापामगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टीमार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए । खेलको १९ औं मिनटमा उज्ज्वलले नै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । बक्सबाहिरबाट आयोजकका डिफेन्डर बिट गरेर बल अघि बढाएका उज्ज्वलले उत्कृष्ट गोल गरी टिमको अग्रता दोब्बर पारेका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोल नै पुलिसको जितमा निर्णायक बन्यो । दुवै टिमले अन्तिमसम्म संघर्ष गरेका थिए । खेलमा दुवै टिमले आकर्षक अवसरहरू सिर्जना गरे पनि गोल थप्न सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्ज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्ज्वलले गरेको प्रहार पोस्ट नजिकबाट बाहिरिएको थियो ।

खेलको १२ औं मिनटमा आयोजकले गोल गर्ने सुन्दर अवसर गुमायो । नीरज कार्कीले पुलिसका गोलरक्षकसमेत बिट गरिसकेको अवस्थामा गरेको प्रहार डिफेन्डर शिशिर चौधरीले उत्कृष्ट हेडिङ गर्दै गोललाइनबाट क्लियर गरेका थिए ।

पुलिसका आशिष राईले खेलको ८८ औं मिनटमा वान भर्सेन वानको अवसर खेर फाले । मध्यभागबाट एक्लै बल अघि बढाएका आशिष फिनिसिङमा चुक्दा आयोजकका डिफेन्डर बल रोक्न सफल भए ।

दोस्रो हाफको इन्ज्युरी समयमा बराबरी गर्ने अवसर आयोजकले सदुपयोग गर्न सकेन । विवेक गुरुङको पासमा मोहित गुरुङको हेडिङ क्रसबार माथिबाट बाहिररियो । खेलमा आकर्षक अवसरहरू बनाए पनि फिनिसिङमा चुक्दा आयोजक नवजनजागृति युवा क्लब घरेलु मैदानमा निराश बन्यो । खेलको म्यान अफ द म्याच पुलिसका उज्ज्वल राई घोषित भए । उनले शुभारम्भ कलेज अफ म्यानेजमेन्टले प्रायोजन गरेको १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । बिहीबार नेपाल एपीएफ क्लब र फ्रेन्ड्स क्लबबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।