बाजुराको जङ्गलमा पाइने टिमुर खेर जाँदै

बाजुराको जङ्गलमा पाइने टिमुर खेर जाँदै

बाजुरा । देशका विभिन्न सहरमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा पाइने टिमुर त्यत्तिकै खेर जाने गरेको छ । टिमुरको महत्वबारे जानकारी नहुँदा त्यत्तिकै खेर जाने गरेको हो । 

घरायसी प्रयोजनका लागि कोही कसैले थोरै ल्याउने गरे पनि बिक्रीवितरणका लागि टिमुर कसैले नटिप्ने गरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय हिरा रोकायाले बताए  । 

सहरबजारमा टिमुरको माग बढेपछि केही स्थानीयले यसको व्यावसायिक खेती सुरु गरेका छन् । टिमुर अचार तथा औषधीका रूपमा प्रयोग हुँदै आएको छ । स्थानीय निकायले पनि टिमुरको व्यावसायिक खेतीतर्फ चासो देखाएको छ ।

वनको टिमुर टिपेर बजारमा लैजानुभन्दा व्यावसायिक खेती गर्दा फाइदा हुने देखिन्छ । टिमुर दुईदेखि तीन मिटरभन्दा अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको पतझड वनस्पति हो ।

बाजुराको बुढीनन्दा, बडीमालिका, गौमूल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहको विभिन्न वनमा प्रशस्त मात्रामा टिमुर पाइन्छ । लेकाली ठाउँको ११ देखि २५ सय मिटरसम्मको उचाइमा टिमुर फल्ने गरेको पाइन्छ ।