आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व सोमबार विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौं उपत्यकामा मनाइँदैछ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो।

यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ।

 यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।