सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आजै आह्वान गरिने

सुदूरपश्चिममा  नयाँ सरकार गठनका लागि आजै आह्वान गरिने

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आज आह्वान हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार साँझ राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुङ्गानाले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए। प्रदेश प्रमुख मियाले बिहीबारदेखि नै राजनीतिक दल, कानुनका विज्ञहरूसँग नयाँ सरकार गठनका लागि आव्हान गर्नका लागि परामर्श लिइरहेको बताएका छन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल ५२ जना सदस्य छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।