ब्याटिङ नचल्दा नेपाल ए आयरल्यान्डसँग पराजित

ब्याटिङ नचल्दा नेपाल ए आयरल्यान्डसँग पराजित

काठमाडौं । कमजोर ब्याटिङसँगै नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५।३ ओभरमा १३६ रनमा अल आउट भयो ।

नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनाल २२ बलमा ४ चौकासहित २६ रनमा आउट भए । नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

छैटौं ओभरको पहिलो बलमा लियाम म्याकार्थीको बलमा सर्ट कभरमा देव केडबाट क्याच आउट भएपछि नेपालले नाटकीय रुपमा विकेट गुमाएको थियो । यसै ओभरको अन्तिम बलमा अर्जुन कुमाल थर्डम्यानमा ९ रनमा क्याच आउट भए ।

नेपालको सिनियर टोलीका प्रमुख ब्याटर भीम सार्की शून्यमा एज लागेर अर्को ओभरमा क्याच आउट भए । त्यसै ओभरमा म्याथ्यु हम्फ्रेजले आरिफ शेखलाई शून्यमा विकेटकिपरबाट आउट गरेपछि नेपाल ७ ओभरमा ४१-४ को अवस्थामा पुगेको थयो । विनोद भण्डारी ९, अर्जुन साउद ४ र कमलसिंह ऐरी ६ रनमा आउट भएपछि नेपाल १२.१ ओभरमा ७८-७ को अवस्थामा पुगेको थियो ।


बसिर अहमद २१ बलमा २ चौका र १ छक्कासहित २० रनमा आउट भए । साहब आउट भएपछि नेपाललाई जित्नलाई २३ रन चाहिएको थियो । मौशम र रिजन ढकालको रन लिनेक्रममा तालमेल नमिलेपछि मौशम रन आउट भएका थिए । रिजन १२ रनमा नट आउट रहे ।

आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रनमा अल आउट भएको थियो । आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । कप्तान निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।

ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२/१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए । नेपालका कमलसिंह ऐरीले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थीलाई डीप मिडविकेटमा साहबबाट २ रनमा क्याच, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई बोल्ड गर्दै ह्याट्रिक लिए । मौसम ढकाल र साहब आलमले २-२ तथा रिजन ढकालले १ विकेट लिए ।

दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । सिनियर टोलीसँगको दुई खेलको सिरिज आयरल्यान्डले २-० ले नै गुमाएको थियो । नेपाल ए सँगको तीन खेलको टी२० सिरिज २९१ ले जितेको थियो ।