चुनाव रोक्न लागेका सिमित व्यक्तिका पछि नलाग्न व्यवसायीलाई संघको आग्रह

चुनाव रोक्न लागेका सिमित व्यक्तिका पछि नलाग्न व्यवसायीलाई संघको आग्रह

धनगढी : नक्कली सदस्यको विषयलाई लिएर निर्वाचन अन्यौल भएपछि कैलाली उद्योग वाणिज्य संघले राय सुझाव लिन व्यवसायीको भेला आयोजना गर्ने भएको छ । 

संघले चुनावमा भईरहेको अन्यौलताका बारेमा जानकारी दिन विहिवार आयोजना गरेको पत्रकार सम्मेलनमा शनिवार व्यवसायीको भेला गरेर राय सुझाव लिईने जनाएको हो । 

संघका अध्यक्ष शकर बोगटीले हाल देखिएका समस्याका बारेमा व्यवसायीहरुलाई जानकारी दिन र राय सुझाव लिन भेलाको आयोजना गर्ने बताए । 

गत वैशाख २२ गतेका लागि तोकिएको कैलाली उद्योग वाणिज्य सघको चुनावको प्रचारप्रसारदेखि उम्मेद्वारले उम्मेद्वारी समेत दर्ता गरेपछि उच्च अदालत दिपायलले नक्कली सदस्यहरूको विवादमा परेको मुद्धामा फैसला गर्दै वैशाख २० गते निर्वाचन स्थगित गर्न आदेश दिएको थियो । 

त्यसपछि असार १७ गते सम्बन्धित सवैको सल्लाहमा चुनाव गराउन फैसला गरेपनि पूर्णपाठ नआउदा चुनावबारे कुनै प्रक्रिया सुरु हुन सकेको थिएन । 

भदौ १ गते संघको टोलीले आफै उच्च अदालत डोटी गएर फैसला ल्याएर अएपछि भदौ ५ गते चुनावबारे सुझाव सकल गर्न समिति गठन गरिएको थियो । 

चुनावबारे राय सुझाव गरी प्रतिवेदन पेश गर्नका लागि गठन गरिएको समितिका एक सदस्य जयराज न्यौपानेले छुट्टै प्रतिवेदन पेश गरेपछि चुनावमा थप अन्यौलता थपिएको हो । 

शनिवार आयोजना गर्ने भेलाले चुनाव गर्न नदिन लागेका केही व्यक्तिबारे आम व्यवसायीले बुझने अपेक्षा संघले गरेको छ ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि चुनाव रोक्न लागेका सिमित व्यक्तिका पछि नलाग्न संघका अध्यक्ष शकर वोगटीले व्यवसायीलाई आग्रह गरे । 

यसअघि चुनाव स्थगित गराउन माग गर्दै मुद्दा हालेका व्यवसायी रविन पन्तले समेत समितिको प्रतिवेदनमा सहमति जनाईसकेका बेला समितिकै सदस्य न्यौपानेले भने घरेलु उद्योग कार्यालय, राजस्व कार्यालय र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका व्यवसायीलाई मात्रै मताधिकार दिनुपर्ने माग गर्दै आएका छन । 

समितिले भने भ्याट र प्यानमा दर्ता भएका व्यवसायीलाई मताधिकार दिईनुपर्ने र यसअघि साधारण सभाबाट सुधार गर्नुपर्ने कुरा सच्याउन सकिने भएकाले चाडो निर्वाचन गराउन सहयोग गर्न सवैमा आग्रह गरेको छ ।