माओवादी बैठकमा जनार्दनको अडान : कर्णालीमा मुख्यमन्त्री छाड्न सकिन्न

माओवादी बैठकमा जनार्दनको अडान : कर्णालीमा मुख्यमन्त्री छाड्न सकिन्न

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नयाँ गठबन्धनको भागबण्डामा पनि कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले नै राख्नुपर्ने बताएका छन् ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा उपमहासचिव शर्माले कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्ने कुरा मान्य नहुने बताएका हुन् ।

‘जनाधारको हिसाबले, बढी प्रतिशत जितेको हिसाबले र अहिले पनि माओवादीकै मुख्यमन्त्री भएका हिसाबले कर्णाली प्रदेशको मुख्यमन्त्री माओवादीले छोड्ने कुरा उचित हुँदैन, त्यसो गर्न पाइँदैन र छोडेमा पनि मान्य हुँदैन भनेर भन्नुभयो’, शर्माको भनाइ उधृत गर्दै बैठकका एक सहभागीले भने ।

सत्ता गठबन्धनमा रहेका दलहरुबीच प्रदेश भागबण्डा हुँदा एमालेले कोशी, गण्डकी र कर्णाली लिने र माओवादीले बागमती र लुम्बिनी लिने विषयमा छलफल भएको थियो । तर शर्माको जवाफमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका नेताहरूसँग छलफल भइरहेको र अहिले नै प्रदेशको भागबण्डा नटुंगिएको बताएका थिए ।

तर शर्माले अध्यक्ष प्रचण्डको भनाइमा विश्वास गरेनन् । ‘अध्यक्षले टुंगिएको छैन भन्नुभयो, तर प्रभाकरजीले टुंगिए पनि तपाईं सही कुरा भन्नुहुन्न र जसरी पनि माओवादीले राख्ने गरी छलफल गर्नुपर्छ भन्नुभयो’, ती पदाधिकारीले भने ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ भने दोस्रो ठूलो दल माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन् ।