गौरिगंगाको शिवगंगा खोलामा जथाभावी उत्खन्न, चुरे क्षेत्रमै चलिरहेको छ डोजर

गौरिगंगाको शिवगंगा खोलामा जथाभावी उत्खन्न, चुरे क्षेत्रमै चलिरहेको छ डोजर

गौरिगंगा । लामबद्ध टिप्परहरु छन् । डोजरले नदिजन्य सामाग्री (ढुङ्गा, वालुवा, गिट्टी आदी) टिप्परमा राखिदै छ । विहानैदेखि ट्याक्टर, टिप्परहरु लाम्बद्ध हुन्छन् । दैनिकजसो खोलाबाट ठूल्ठूला ढुङ्गाहरु ट्याक्टरबाट ओसार्ने काम भइरहेको हुन्छ । गौरिगंगा नगरपालिका वडा नम्बर ३ राजिवभुगडामा यस्तै दृष्य नियमित देखिन्छ ।

शिवगंगा खोलामा नदिजन्य पदार्थ उत्खन्न गर्न ठेक्का सम्झौता गरेको विश्वास कन्स्ट्रक्सनले वातावरणीय प्रभाव मूल्याँकन भन्दा बढी र तोकिएको क्षेत्रभन्दा बाहिर गएर नदिजन्य पदार्थ उत्खन्न, संकलन तथा ढुवानी गरिरहेको नगरपालिकाकै अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

वातावरणीय प्रभाव मूल्यांकन अनुसार सो कम्पनिले कुचौनि घाँटमा १५ हजार एक सय २५ घनमिटर र शिवगंगा पुलबाट उत्तरतिर सात हजार आठ सय ७५ घनमिटर नदिजन्य पदार्थ उत्खन्न गर्न पाउने उल्लेख छ ।

नदिजन्य पदार्थ उत्खन्न गर्दा शून्य दशमलब पाँच मिटर अधिकतम गहिराई तोकिएको भएपनि सो विपरित आफुखुशी ठुलो खाल्डा बनाएर नदिजन्य पदार्थ संकलन गरिरहेको नगरपालिकाको अनुगमन प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकामा जथाभावी नदिजन्य पदार्थ उत्खन्न भएको गुनासो आएपछि गठित छानविन टोलीले तयार पारेको प्रतिवेदनमा भनिएको छ –‘प्रत्येक स्थानमा तोकिएको भन्दा गहिरो उत्खन्न देखियो ।’

सो क्षेत्रमा वातावरणीय प्रभाव मूल्यांकनले तोकेको घनमिटरभन्दा बढी उत्खन्न तथा संकलन भइरहदा समेत नगरपालिकाले रोक्न नसकेको स्थानीयहरु बताउँछन । ‘यहाँ २४ हजार घनमिटरमात्र नदिजन्य पदार्थ संकलन गर्न पाइने हो । तर, निर्माण कम्पनिले सो भन्दा बढी संकलन गरिसकेको छ । अझै नगरपालिकाले रोक्न सकेको छैन’ एक स्थानीयले भने ।

निर्माण कम्पनिले सो क्षेत्रको चुरे भावर क्षेत्रमै पुगेर नदिजन्य पदार्थ संकलन गरिरहेको स्थानीयहरु बताउँछन । नगरपालिकाकै संरक्षणमा निर्माण कम्पनिले चुरे भावर क्षेत्रमा नदिजन्य पदार्थ उत्खन्न गरिरहेको उनीहरुको भनाई छ । नदिजन्य पदार्थ चुरे क्षेत्रमा संकलन गर्न नपाइने व्यवस्था भएपनि नगरपालिकाले अनुगमन तथा निरिक्षण नगर्दा कम्पनिले चुरे क्षेत्रमै पुगेर नदिजन्य पदार्थ संकलन तथा उत्खन्न गरिरहेको जनाइएको छ ।

गौरिगंगा नगरपालिकाले तीन लाख ३९ हजार २४ घनमिटर नदीजन्य पदार्थ उत्खन्न गराउन तीन करोड पाँच सय ३९ लाख १६ हजार दुई सय ९७ न्यूनतम रकममा निर्माण कम्पनिसंग ठेक्का सम्झौता गरेको छ ।

नगरपालिकाको सो प्रतिवेदनमा भनिएको छ –‘निर्माण कम्पनिले नगरपालिकाबाट प्रमाणित नगरिएको ठेली समेत भेटिएको छ ।’ यसरी निर्माण कम्पनिले नक्कली ठेली प्रयोग गरि राजश्व पनि छलि गर्ने प्रयास भएको प्रतिवेदनमा उल्लेख छ ।

एक स्थानीयका अनुसार –‘नगरपालिकामात्र नभई प्रहरीले पनि सो कम्पनिलाई संरक्षण दिइरहेको छ भने जिल्ला प्रशासन कार्यालयले पनि जथाभावी उत्खन्न रोक्ने प्रयास गरेको छैन् ।’ प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले पनि सो क्षेत्रको अनुगमन गर्न नगएको उनको गुनासो छ ।

नगरपालिकाभित्र नदिजन्य पदार्थको राजस्व संकलन र जथाभावी उत्खन्न रोक्ने अधिकार रहेको छ भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको समितिले स्थानीय तहबाट नियन्त्रण नभए त्यसको अनुगमन, निरिक्षण गरि आवश्यक कारबाही अघि बढाउन अधिकार तोकिएको छ ।

जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशीले भने ‘सकेसम्म स्थानीय तहबाटै जथाभावी नदिजन्य पदार्थ उत्खन्न रोक्ने काम हुनुपर्छ । यदि त्यहाँबाट पनि लापरबाही भए प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले अनुगमन गर्छ ।’

चुरे भावर क्षेत्रमै नदिजन्य पदार्थ उत्खन्न हुन लागेपछि तटिय क्षेत्रमा डुवान, कटान लगायतका समस्या आउन सक्ने उनको भनाई छ । उनले भने –‘चुरे क्षेत्रमा संकलन समेत गर्न पाइदैन् । त्यसरी डोजर लगाएर टिप्परमा उत्खन्न भइरहेको पाए उपकरणहरु नियन्त्रणमा लिइने छ ।’